नेपालगन्जस्थित फरेन्सिक ल्याबमा भिसेरा परीक्षण सुरु
Sunday, December 12th, 2021, 6:01 am
Kalpristha
अब लुम्बिनी प्रदेशका रुपन्देहीभन्दा यताका, कर्णाली र सुदुरपशिचमका गरी करिब दुई दर्जनबढी जिल्लाका नमुनाहरु प्रहरीले नेपालगन्जमा परीक्षण गर्न पठाउनुपर्ने डिआइजी अधिकारीले बताए । नमुनाहरु आउन थालेसँगै परीक्षण पनि सुरु गरिने उनको भनाई छ ।
वीरेन्द्र जैसी
नेपालगन्ज, २५ मंसिर
अब लुम्बिनी, कर्णाली र सुदुरपश्चिमप्रदेशका अपराध अनुसन्धानसँग सम्बन्धित ठोस प्रमाणरु नेपालगन्जस्थित नवनिर्मित प्रहरी विधि विज्ञान प्रयोगशालाबाट परीक्षण हुने भएका छन् ।
प्रयोगशालाको उद्घाटन भएको २२ महिना भइसक्दा पनि सन्चालनमा आउन नसकेकोमा अब यस क्षेत्रका प्रमाणहरु उक्त प्रयोगशालाबाटै परीक्षण हुने भएका हुन् ।
केन्द्रिय विधि विज्ञान प्रयोगशालाले यस क्षेत्रका प्रहरी तथा अपराध अनुसन्धानसँग सम्बन्धित निकायलाई प्रमाणहरु नेपालगन्ज पठाउन परिपत्र गरिसकेको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी प्रकाश अधिकारीले माथिबाट मातहतका प्रहरी निकायहरुलाई ठोस प्रमाणहरु नेपालगन्ज पठाउन केहीदिनअघि परिपत्र आएको जाकारी दिए । उनले प्रयोगशालामा भिसेरा परीक्षण र लागुऔषध जाँच सम्बन्धि मेसिन र उपकरण जडान गरिसकिएको जानकारी दिए ।
अब लुम्बिनी प्रदेशका रुपन्देहीभन्दा यताका, कणर्ाली र सुदुरपशिचमका गरी करिब दुई दर्जनबढी जिल्लाका नमुनाहरु प्रहरीले नेपालगन्जमा परीक्षण गर्न पठाउनुपर्ने डिआइजी अधिकारीले बताए । नमुनाहरु आउन थालेसँगै परीक्षण पनि सुरु गरिने उनको भनाई छ ।
‘एउटा जाँच गर्नु र २० वटा जाँच गर्नुमा लाग्ने खर्च उस्तै हुन आउने हुँदा कम्तिमा २० वटा नमुना जम्मा भएपछि परीक्षण सुरु गर्छौँ,’ डिआईजी अधिकारीले भने । प्रयोगशालामा विष सेवन, डुबेर भएका संकास्पद मृत्युलगायतका घटनामा रासायनिक विधिबाट प्रयोग गरी यथार्थ पत्ता लगाउने गरिन्छ । यसका साथै लागुऔषधको परीक्षणका लागि पनि प्रयोगशाला महत्वपूणर् छ ।
उनले नेपालगन्जको प्रयोगशाला सन्चालनमा आएपछि अपराध अनुसन्धानमा समय कम लाग्ने विश्वास व्यक्त गरे । ‘हाल सबै नमुनाहरु काठमाडौं पठाउँदा तीन महिनासम्म लाग्ने गर्छ । अब यतै भएपछि हामी छाटो समयमै परीक्षणहरु गर्न सक्ने छौँ,’ उनले भने । प्रयोगशालाका मेसिन र उपकरणसँगै प्राप्त नमुनाहरु स्टोर गरिराख्न स्टोर कक्षको पनि निर्माण गरिएको उनले जानकारी दिएका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रहरी युनिटहरुलाई पायक पर्नेगरि स्थापना गरिएको प्रयोगशालाको महत्व अत्यन्त धेरै रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसी मधुदुदन न्यौपानेले बताए । ‘अहिले प्रहरीले प्रयोगशालामा पठाउनुपर्ने मुख्य नमुनाहरु भिसेरा परीक्षणसँग सम्बन्धित हुन्छन् । त्यसको लागि हामीसँग काठमाडौंभन्दा अर्को विकल्प छैन । नेपालगन्जमा प्रयोगशाला सन्चालनमा आयो भने केशहरु फछ्र्यौटको दर अझै बढ्छ र समयका साथै खर्चको बचत हुन्छ,’ न्यौपानेले भने ।
नेपाल प्रहरीका तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनाल २०७६ साल माघ २२ गते आफू अवकाश हुनु ५ दिनअघि नेपालगन्ज आएर भव्य कार्यक्रमका बिच प्रयोगशालाको उद्घााटन गरेका थिए । हाल लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका प्रयोगशालामा परीक्षण गर्नुपर्ने प्रमाणहरु परीक्षण गर्न काठमाडौ पठाउनपर्ने बाध्यताको अन्त्य गर्न प्रयोगशाला स्थापना गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
काठमाडौंको भर पर्दा भिसेरा परीक्षणको नतिजा प्राप्त गर्न यस क्षेत्रले कम्तिमा २५ दिनदेखि एक वर्षसम्म कुनुपर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । जुन परीक्षण सामान्य अवस्थामा दुई हप्तामा गर्न सकिन्छ । कणर्ाली प्रदेशका नमुनाहरु काठमाडौँ पठाउन समय, प्रविधि र लगानीका हिसाबले खर्चिलो छ ।
नेपाल प्रहरीका अनुसार केन्द्रिय विधि विज्ञान प्रयोगशालामा जाँच हुने ठोस प्रमाण र रासायनिक प्रमाणका नमुनाहरुमध्ये करिब आधा जति लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशकै हुने गरेका छन् । आर्थिक वर्ष ०७५/०७६ मा भीसेरा जाँचका लागि लुम्बिनी प्रदेशबाट सात सय ३२, कणर्ाली प्रदेशबाट एक सय ९६ र सुदूरपश्चिम प्रदेशबाट तीन सय तीन वटा नमुना काठमाडौं पठाइएको थियो । जुन देशभरीबाट गरिएको भीसेरा जाँचको ४६ दशमलव ६१ प्रतिशत हुन आउँछ ।
नेपालमा फरेन्सिक जाँचका लागि काठमाडौंमा रहेको केन्द्रिय विधि विज्ञान प्रयोगशालाबाहेक धरानमा मात्रै प्रयोगशाला रहेको छ । तर धरानमा पनि भिसेरा परीक्षण मात्रै हुने गरेको छ । काठमाडौं र धरानपछि नेपालमा स्थापना भएको तेस्रो विधि विज्ञान प्रयोगशाला नेपालगन्जस्थित प्रयोगशाला हो ।
पहिलो चरणमा प्रयोगशालामा भिसेरा परीक्षण र लागुऔषध परीक्षणको काम सन्चालनमा आउने छ । शंकास्पद तरिकाले मृत्यु भएका व्यक्तिको पोष्टमार्टमपछि आन्द्रामा भएका केमिकलहरुको परीक्षण गर्ने प्रविधि भिसेरा परीक्षण हो ।
नेपाल सरकारको नियमित बजेटबाट हालसम्म प्रयोगशालामा भवनको सवा तीन करोडसहित करिब पाँच करोड लागत लागिसकेको जनाइएको छ ।
हाल प्रयोगशालामा प्राविधकसहित १३ जना प्रहरी खटाइएका छन् । तीमध्ये तीनजना प्राविधिक कर्मचारीहरु छन् ।