संघीयता असफल बनाउने षड्यन्त्र हुँदै छ : उपेन्द्र
Sunday, December 12th, 2021, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपालगञ्जमा भएको बृहत अगुवा कार्यकर्ता भेला एवं अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादवले विकास निर्माणका लागि प्रदेशहरुलाई स्वायत्त अधिकार दिनुपर्नेमा त्यसो नगरिएको भन्दै असन्तुटि पोखे ।
विकास निर्माणमासमेत अत्याधिक भेदभाव गर्ने गरिएको जनाउँदै उनले विकासको बजेट पनि जनसंख्या र आवश्यकताको आधारमा वितरण हुनुपर्ने बताए । जनता समाजवादी पार्टी सन्तुलित विकास निर्माणको पक्षमा रहेको प्रष्ट पार्दै अध्यक्ष यादवले तराई पहाड र हिमालमा समान विकास हुनुपर्नेमा जोड दिए । उनले मधेस विद्रोहका कारण नेपालमा गणतन्त्र, समावेशीकरण, संघीयता आएको दावी गर्दै जसपा नेपालको अस्तित्व रहेसम्म कुनै पनि ताकतले गणतन्त्र र संघीयता असफल बनाउन नसक्ने दावी गरे ।
अध्यक्ष यादवले नेपालमा भएका आन्दोलनहरुले सत्ता परिवर्तन गरेपनि मधेस विद्रोहले शासन प्रणाली नै परिवर्तन गरेको बताए । ‘नेपालमा विभिन्न समयमा जनआन्दोलन भए । ती सबै आन्दोलनले सत्ता परिवर्तन गरे, अध्यक्ष यादवले भने, ॅमधेस जनविद्रोहले मात्रै शासन प्रणाली परिवर्तन गरेको छ ।’
अध्यक्ष यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नलिएर अझै पनि केही नेताले संघीयता र गणतन्त्र स्वीकार नगरेको टिप्पणी गरे ।
सोही सभामा पुर्व मन्त्री तथा बाँके छेत्र नम्बर दुईका संघीय सांसद मोहम्मद ईश्तियाक राई, लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार निर्माण मन्त्री सहसराम यादव, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय स्रिवास्तव, नरैनापुर गाउँ पालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राई लगायतले पनि बोलेका थिए । यसैबीच नरैनापुरमा गरिएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक हजार पाँचसय जना जसपामा प्रवेश गरेको जसपा नरैनापुरले जनाएको छ ।