बाल्मिकी समुदायका नेता मैकुलाल केन्द्रिय सदस्यमा लड्दैं
Sunday, December 12th, 2021, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २६ मंसिर
बाल्मिकी नेपालको अल्पसंख्यक दलित समुदायमा पर्छ । सरकारी तथ्याक अनुसार नेपालमा करिब ७ सय घरधुरी बाल्मिकी समुदायको छ । बाँके, झापा, बर्दिया, धनगढी, नवलपरासी, वीरगन्जमा बाल्मिकी समुदायको बसोबास रहेको छ । शिक्षा र राजनितिमा बाल्मिकी समुदायको प्रतिनिधित्व प्राय शुन्य छ । तर बाँके नेपालगन्जका मैकुलाल बाल्मिकी भने अल्पसंख्यक समुदायमा उदाहरणीय नेता हुन ।
बाँके क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि भएर आएका मैकुलालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदवारी दिएका छन । संविधान सभा सदस्य समेत रहेका बाल्मिकी शिक्षा व्यावसायी हुन । शिक्षासँगै राजनितिमा पनि मैकुलाल सक्रिय नेताका रुपमा स्थापित छन । संस्थापन पक्षधर कांग्रेस नेता बाल्मिकीले केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराएसँगै प्रचार–प्रसारलाई तिब्र पारेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको महाधिवेशनमा केन्द्रिय सदस्यका लागि नेता बाल्मिकीको पक्षमा प्रचार प्रचार तिब्र पारिएको हो । नेता बाल्मिकी २०७० सालमा तत्कालिन संविधान सभाको सदस्य हुन् । संविधान निर्माणको काममा महत्वपूर्ण भुमिका खेलेका उनी बाँकेबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
‘मैले मतदातालाई भेट्ने काम गरिरहेको छु, पार्टीमा मैले गरेको कामको मुल्यांकन गरेर कांग्रेसका महाधिवेशन प्रतिनिधी ज्यूहरुले केन्द्रिय समितिको जिम्मेवारीमा मलाई पठाउनु हुनेछ भन्नेमा म आशावादी छु,’ उनले भने । नेता बाल्मिकी २०३६ सालको जनमत संग्रहमा सक्रिय सहभागी भएर कांग्रेसको राजनीतिमा होमिएका थिए ।
२०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागी भएका उनी २०६१÷६२ को आन्दोलनमा सुरक्षाकर्मीबाट यातना पाएका थिए । ‘त्यतिबेला मैले सुरक्षाकर्मीबाट पाएको यातनालाई म कहिल्यै विर्सन सक्दैन, आफ्नो ज्यान भन्दापनि प्यारो त्यतिबेलाको आन्दोेलन थियो,’ नले स्मरण गर्दै भने ।
पार्टीको वडा सचिव, नगर सचिव हुदै नेता बाल्मिकी नेपाली कांग्रेस बाँकेको जिल्लास्थित प्रशिक्षण विभाग प्रमुख भएका थिए । नेपाली कांग्रेसको भातृ संस्था दलित संघको संस्थापक सदस्य समेत रहेका उनले नेपाल सरकारको महिला तथा बालबालिका समिति सदस्य, नेपाल सरकारको स्वास्थ्य समितिका संयोजक भएर काम गरिसकेका छन् । ‘पार्टीले मलाई दिएको जिम्मेवारी अहिलेसम्म इमान्दारिपुर्वक पुरा गर्दै आएको छु, पहिले संविधान बनाउनका लागि पार्टीले दिएको जिम्मेवारीलाई पुरा गरेँ, अब पार्टी बनाउने जिम्मेवारीलाई पनि म कुशलता पुर्वक पुरा गर्नेछु,’ नेता बाल्मिकी भन्छन् ।