दलित समुदायका नेता रसाईलीको उमेदवारी केन्द्रिय सदस्यमा
Monday, December 13th, 2021, 6:53 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २७ मंसिर
दलित समुदायको हक अधिकार र उत्थानको क्षेत्रमा सक्रिय नेता हुन कृष्ण बिके रसाईली । उनले दलित समुदायको अधिकारलाई प्राप्त गर्नका लागि थुप्रै योगदान गरेका छन । सामाजिक र राजनिति क्षेत्रबाट आफनो समुदायका लागि नेतृत्वकर्ताको छबी बनाएका रसाईलीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन। आज हुन लागेको कांग्रेसको अधिवेशनमा नेता रसाईलीले प्रचार प्रसारमा ब्यस्त भएका छन । काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको चुनावी रौनकता छाइरहेको छ । निर्वाचनमा संस्थापन इतर(शेखर कोइराला) प्यानलबाट केन्द्रिय सदस्य(दलित खुला) उम्मेदवारी दिएका रसाइलीले प्रचार प्रसार तिब्र पारेका हुन ।
‘म अहिले प्रचार प्रसारमा ब्यस्त छु, मतदातालाई भेटघाट अभियान जारी राखेको छु, मतदानको पुर्वसन्ध्यामा मतदाताबाट हौसला पाउँदा निकै उत्साहित छु,’ उनले भने ।
रसाइली नेपाली कांग्रेस बाँकेमा लामो समयदेखी आवद्ध रहेर राजनीति गर्दै आएका छन । उनी दलित समुदायको हक, अधिकारका लागि पनि आवाज उठाउने ब्यक्ति हुन ।
नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका रसाइलीले पार्टीमा पुर्याएको योगदानको कदर स्वरुप संस्थापन इतर प्यानलबाट उम्मेदवार बन्न सफल भएका हुन । नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु गरेका बिक नेपाल तरुण दल बाँकेको जिल्ला सदस्य, सह–सचिव हुदै उपसभापतिको जिम्मेवारीमा रहेका थिए । उनी स्थानीय विकास मन्त्रालयको उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशक समेत भएका थिए ।