डोल्पामा संरक्षण योजना सम्बन्धी बैठक सम्पन्न
Monday, December 13th, 2021, 4:45 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा,२७ मंसिर
संरक्षण योजना सम्बन्धी बहुपक्षीय सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोग तथा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । डोल्पामा सबै भन्दा गहिरो ताल फोक्सुण्डो, क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो शे फोक्सुण्डो राष्ट्रिय निकुन्कुज, बहुमुल्य गुणस्तरको यार्सागुम्बा, शे गुम्बा, सुलिगार्ड झरना, दुर्लभ वन्यजन्तु हिउँ चितुवा, रेडपाण्डा लगायतका वन्यजन्तु समेत छन् ।
जिल्लास्तरीय सरोकारवाला निकायबीच गरिएको अन्तरकृया कार्यक्रमले संरक्षण योजना निर्माण गर्दा स्थानीय जनसमुदायको सल्लाह सुझावलाई प्राथमिकता दिन जोड दिएको छ । वन्यजन्तु तथा वनस्पती संरक्षण गर्नु सबैको साझा दायित्व रहेको स्थानीय जनतालाई अनुभूती गराउनु पर्नेमा समेत सहभागिले जोड दिए ।
नेपाली सेनाको जनशक्ती कम भएपनि शे-फोक्सुण्डो राष्ट्रिय निकञ्ज क्षेत्र र निकुञ्ज बाहिर क्षेत्रमा सुरक्षा मजबुत दिइरहेको रामवाण गुल्म सुलिगाड डोल्पाका गुल्मपति सेनानी ईश्वर थापाले बताए । भौगोलिक विकटता, संचार तथा हावापानीको कठिनाई भएता पनि सेनाले आफ्नो विभिन्न प्रविधि मार्फत सुरक्षा गर्दै आएको सेनानी थापाको भनाई थियो ।
देशमा संघियता लागु भएसंगै निकुञ्ज र स्थानीय तहबीच वन्यजन्तु तथा वनस्पती संरक्षणमा कम समन्वय हुने गरेकोमा आगामी दिनमा समन्वयलाई बढाएर काम गर्नु पर्ने ठुलीभेरी नगरपालिका डोल्पाका उपप्रमुख योगेन्द्र बहादुर शाहीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले वन्यजन्तु र वनस्पती सकिए मानव अस्तित्व पनि अन्त हुने बताए । वन्यजन्तुको आहारा निकुञ्ज क्षेत्रका स्थानियका घरपालुवा जनावर हुन सक्ने भन्दै वन्यजन्तु संरक्षणको लागि कृषकलाई राहत भन्दा पनि पूरै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको अधिकारीले बताए ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले विभिन्न सरोकारवाला निकाय, जिल्लावासी, निकुञ्ज क्षेत्रका स्थानीयवासीसँग समन्वय गरेर संरक्षण लाई अझ बलियो बनाउनु आवश्यक रहेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत लाल बहादुर भण्डारीले बताए ।
लोपोन्मुख हिउँ चितुवा लगायतका वन्यजन्तु संरक्षणको लागि पहिलो भूमिका निकुञ्ज क्षेत्रका स्थानीयको हुने भएकोले वन्यजन्तुबाट कुनै स्थानियको पशु तथा बालीमा हानीनोक्सानी भएमा क्षतीपुर्ती दिने व्यवस्था रहेको समेत संरक्षण अधिकृत भन्डारीले स्मरण गराए ।