दाङमा कोइलाखानीमा च्यापिएर एक मजदुरको ज्यान गयो
Monday, December 13th, 2021, 7:02 pm
Kalpristha
लिलाधर ओली
दाङ, २७ मसिंर
दाङको कोईलाखानीमा च्यापिएर एक पुरुषको ज्यान गएको छ । घोराही उपमहानगरपालिका-१ दाङ्जामास्थित पशुपती कोईलाखानी उद्योगमा काम गर्ने क्रममा सोमवार दिउँसो एक जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रमुख सरेन्द्र काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१९ निवासी ४६ वर्षका भक्तबहादुर घर्ती रहेका छन् । कोईलाखानीको सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किएपछि च्यापिएर घाइते भएका घर्तीको उपचारका क्रमममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी प्रमुख काफ्लेले बताए ।
‘कोइलाखानीमा काम गर्ने क्रममा सुरुङ भित्किदा च्यापिएर घाइते भएका घर्तिको उपचारका क्रममा मृत्यु भएको भन्ने छ’, प्रहरी प्रमुख काफ्लेले भने, ‘घट्ना बारे थप अन्य विवरण आउन सकेको छैन ।’ उनले मृतक घर्ति कोइलाखानीमा कामदारका रुपमा रहेपनि कहिलेदेखि कार्यरत रहेको र कुन काम गर्ने गर्थे भन्ने समेत नखुलेको बताए ।
मृतकको शव पोष्टमार्टमका लागि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको उनले बताए । प्रहरी प्रमुखका अनुसार मंगलवार मृतकका परिवारले जाहेरी दिने भएका छन् । गतबर्ष फागुन महिनामा कोइलाखानीभित्र काम गर्ने माथिबाट खसेको ढुंगाले लाग्दा घोराही उपमहानगरपालिका-१९ निवासी ४२ वर्षीय मोहनलाल कामीको मृत्यु भएको थियो । पहाडकोभित्र सुरुङ खनेर कोइला खन्ने काम जोखिमपूणर् भएपनि घरको कमजोर आर्थिक स्थीतिका कारण स्थानीयहरु जोखिमपूणर् काम गर्ने गरेका छन् ।
दाङका विभिन्न ठाउँमा रहेका कोइलाखानीहरुमा काम गर्ने क्रममा अहिलेसम्म करिव ७-८ जनाका सुरुङमा पुरिएर मृत्यु भैसकेको छ । कोइलाखानीभित्र काम गर्ने जोखिमपूणर् काम भएपनि सुरक्षाका लागि आवश्यक सामग्री नहुने र अधिकांस कामदारहरुको विमा समेत नहुने गरेको प्रहरीले जनाएको छ ।
दाङमा घोराही उपमहानगरपालिका वडा नं. १, १९ सँगै बंगलाचुली गाउँपालिकाका विभिन्न वडाहरुमा करिब एक दर्जन बढी स्थानहरुमा कोइलाखानी सञ्चालनमा रहेका छन् ।