मूल्यवृद्धि ५ प्रतिशत नाघ्यो
Wednesday, December 15th, 2021, 6:50 pm
Kalpristha
कात्तिक महिनामा मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकले जनााएको छ । कात्तिकमा मूल्यवृद्धिदर ५.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो ।
गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत छ । २०७७ कात्तिकको तुलनामा २०७८ कात्तिकमा घ्यू तथा तेलमा २९.११ प्रतिशत, यातायातमा १२.३६ प्रतिशत, माछा तथा मासुमा १०.९१ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थमा १०.७० प्रतिशत, सुर्तीजन्य वस्तुमा १०.३० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहमा १०.२४ प्रतिशत मूल्यवृद्धि भएको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मूल्यवृद्धि भएको छ । २०७७ कात्तिकमा यी क्षेत्रहरुमा उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मूल्यवृद्धि भएको थियो ।
सन् २०२१ नोभेम्बरमा भारतमा ४.९१ प्रतिशत छ । २०७८ कात्तिकमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ६.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ९.४१ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४३ प्रतिशत, ६.१५ प्रतिशत र ७.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २०.१० प्रतिशत रहेको छ ।