लुम्बिनीको स्वास्थ्य मन्त्रालयले थाल्यो स्थायी राजधानीबाट काम
Wednesday, December 15th, 2021, 6:59 pm
Kalpristha
लिलाधर ओली
दाङ, २९ मंसिर
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको १४ महिनापछि दोस्रो मन्त्रालयका रुपमा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले काम सुभारम्भ गरेको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियामा मन्त्रालय स्थापना गरेर बुधबारदेखि कामको सुरुवात गरिएको हो ।
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित थारुले मन्त्रालयको उद्घाटन गर्दै अब मन्त्रालयले सम्प्पूणर् रूपमा सेवा स्थायी राजधानीबाट दिने बताए । उनले स्थायी राजधानीबाट अन्य मन्त्रालयहरुले पनि विस्तारै सेवा शुरू गर्ने बताए । ‘स्थायी राजधानी कार्यान्वयनका क्रममा स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले देउखुरीको सिसहनियाबाट काम सुभारम्भ गरेको छ’, मन्त्री थारुले भने, ‘यसले राजधानी कार्यान्वयनमा सहयोग महत्वपूणर् भूमिका खेल्नेछ ।’ उनले मन्त्रालयले अव सम्पूणर् सेवाहरु स्थायी राजधानीबाटै दिने बताए ।
मन्त्री थारूले संघीय सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु जानकारी दिँदै स्वास्थ्य सेवामा मध्यकालीन तथा दीर्घकालीन रणनीतिका साथ काम भइरहेको बताए । कार्यालय उदघाटन कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वली खत्रीले स्थायी राजधानीमा मन्त्रालयले काम सुरु भएसँगै नागरिकले सरल र सहज रुपमा सेवा पाउने बताइन् ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मुलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए । निर्देशनालय, आपूर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूणर्रूपमा संचालनमा ल्याउन कार्य अगाडि बढाइएको उनले बताए ।
प्रदेशको स्थायी राजधानीमा पहिलो मन्त्रालयका रुपमा ग्रामीण तथा सहरी विकास मन्त्रालय आएको थियो । तर स्थायी राजधानीमा कर्मचारीहरुका लागि आवासीय सुविधा नभएको भन्दै आउन नमानेपछि मन्त्रालयले अस्थायी राजधानी बुटवलबाटै मन्त्रालयको सेवा दिने गरेको छ ।
वडा कार्यालयबाट मन्त्रालयको काम
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले वडा कार्यालयबाट सेवा दिन थालेको छ । राप्ती गाउँपालिका वडा नं. ५ को वडा कार्यालयलाई स्तान्तरण गरि उक्त भवनबाट मन्त्रालयले काम सुरु गरेको हो । स्थायी राजधानीमा मन्त्रालयका लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माण नहुँदासम्म मन्त्रालयले वडा कार्यालयबाटै सेवा दिने गरि मन्त्रालय स्थापना गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिएका छन् । वडा कार्यालयका लागि अर्को भवन भाडामा लिएर सञ्चालन गरिएको छ ।