बराल बने माओवादीको लुम्बिनी प्रदेश अध्यक्ष
Thursday, December 16th, 2021, 3:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ पौष
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा नेता सुदर्शन बराल मगर चयन भएका छन् । बराल लुम्बिनी प्रदेशको पूर्व सामाजिक विकास मन्त्री हुन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले दुई सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको प्रस्तावमा बराल सर्वसम्मत अध्यक्ष बनेका हुन् । प्रदेश अध्यक्षमा रोल्पाका दीपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दावी गर्दै आएका थिए । तर उनीहरु दुवै जना दुई सय १७ सदस्यीय प्रदेश समितिमै नपरेपछि बराल सर्वसम्मत भएका हुन् ।
प्रदेश समितिका अरु पदाधिकारीको भने टुंगो लागेको छैन । माओवादीले प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।
माओवादीले मंसिर २५ र २६ गते दाङको भालुबाङमा अधिवेशन सम्पन्न गरेको थियो । दुई सय ५३ सदस्यीय समितिमा ११ जना विभिन्न कलष्टरबाट मनोनित गरिनेछन् ।