नेपालगन्ज नगरस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
Friday, December 17th, 2021, 6:09 pm
Kalpristha
नगरस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा आइटिएफ तेक्वान्दो संघ बाँकेको आयोजनामा प्रतियोगिता सुरु भएको हो । नेपालगन्जको रंगशालास्थित कवर्डहलमा जारी प्रतियोगितामा नेपालगन्ज उप-महानगरपालिका भित्रका दुई सय ३० जना खेलाडीहरुको सहभागिता रहेको आइटिएफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष रन्जित गिरिले जानकारी दिए ।
कोरोनाका कारण दुई वर्षसम्म ठप्प भएको खेल क्षेत्र चलायमान गराउनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गिरिले बताए । यस्ता खेलकुदका कार्यक्रमले युवाहरुको स्वास्थ्य सुधार हुने भएपनि सरकारबाट आवश्यक सहयोग पाउन नसकिएको उनको गुनासो छ ।
‘कोरोनाका कारण लामो समयसम्म खेल सन्चालन हुन सकेनन् । स्थानीय सरकारहरुसंग सहयोग माग्दा पनि कतैबाट सहयोग पाइएन, कतिपय वडा र पालिकाले सहयोग गर्छु भनेपछि यो प्रतियोगीता आयोजना गर्न सकिएको हो’ अध्यक्ष गिरिले भने ।
आइटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गीता क्षेत्रीले तेक्वान्दोमा नयाँ पुस्ताको सहभागिता बढ्न थालेको बताइन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदिले खेलको महत्व उच्च रहेकोले कार्यक्रमका लागि सहयोग गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले यस्ता कार्यक्रमले युवाहरुलाई लागुऔषधबाट टाढा रहन मद्यत पुग्ने र अपराधका घटनामा कमी आउने बताए । जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष मोहित शाहले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्यत पुग्ने बताए ।
कार्यक्रममा कैलालीको टिकापुरबाटसमेत खेलाडीहरु आएका छन् । उप-महानगरपालिकास्तरीय भनेपनि खेलमा अभिरुची देखाएका कारण टिकापुरबाट समेत खेलाडी सहभागी भएको आइटिएफ तेक्वान्दो लुम्बिनि प्रदेशका संयोजक वीरेन्द्र शाहीले बताए । शाहिका अनुसार प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।