आत्मरक्षाका लागि करातेमा किशोरीको सहभागिता बढ्दै
Friday, December 17th, 2021, 8:06 pm
Kalpristha
–निशु जोशी
नेपालगन्ज-१८ कारकादो बस्ने १७ वर्षीया आशिमा वली विगत ४ महिनादेखि कराँते सिक्दैछिन् । सडक डिभिजन कार्यालय कारकाँदोको परीसरमा सन्चालनमा रहेको आइटिएफ तेक्वान्दोको तालिमले आत्मरक्षामा सहयोग गर्ने उनको विश्वास छ ।
उनीजस्तै, मेनुका धौलाकोटी र कृष्णा सुनारले पनि यो तालिम लिइरहेका छन् । आत्मरक्षासंगै यो तालिम शारीरिक र मानसिक रुपमा स्वस्थ रहन महत्वपूणर् रहेको उनीहरुको भनाइ छ । उनीहरुसँगै नेपालगन्ज उप-महानगरभित्र हाल चार सय बढी किशोर किशोरीले तालिम लिइरहेका छन् ।
जसमध्ये झण्डै ३५ प्रतिशत किशोरीहरु रहेको आइटिएफ तेक्वान्दो बाँकेका संस्थापक एवम् संघको लुम्बिनी प्रदेशका सदस्य अब्दुल अजिज जसगढले बताए । किशोरीहरु हिंसामा परिरहेका घटनाले गर्दा अभिभावकहरु आफैले आत्मरक्षाका लागि छोरीहरुलाई तालिम लिनका लागि पठाउन थालेको उनको भनाइ छ । ‘पहिले खेल खेलेर के हुन्छ र भन्ने अभिभावकहरु आजभोली आफै छोरीहरु लिएर कराँते सिकाइदिनुपर्यो भनेर आउने गरेका छन्’ उनले भने ।
बाँकेमा तेक्वान्दो खेलको सुरुवात भएको २ दशक भइसकेको छ । सुरुवाती चरणमा खेलमा सहभागीता न्यून थियो । त्यसमाथि महिला सहभागिता नै नभएको अवस्था रहेको आइटिएफ तेक्वान्दो लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गीता क्षेत्री बताउछिन् ।
क्षेत्री तेक्वान्दो खेलको पुरानो एकजना मात्र महिला खेलाडी हुन् । नेपालगन्ज-१ बेलासपुर निवासी क्षेत्रीले २०५७ सालदेखी यो खेल खेल्न सुरु गरेकि हुन् । ‘सूरुवातमा खेलाडी नै न्यून । महिला त झन छदै थिएनन् । केटी साथी नहुँदा मैले केटाहरुसंगै फाइट खेले’ क्षेत्रीले सुरुवाती चरणको अनुभव सुनाउदै भनीन्, ‘आजभोली आत्मसुरक्षाका लागि भएपनि अभिभावकले छोरीहरुलाई खेल्न पठाउने गरेका छन् ।’
खेलले किशोरकिशोरीलाई व्यस्त बनाउदै कुलतबाट टाढा राख्ने, शारीरिक, मानसिक रुपमा स्वस्थ रहन मद्यत गरेको उनको भनाइ छ । जोखिमपूणर् देखिए पनि सुरक्षा सामग्रीको प्रयोग गरेर खेल्ने गरीएको उनी बताउछिन् ।
पढाईबाट सैद्धान्तिक ज्ञान सिकेको भएपनि खेलबाट व्यवहारिक ज्ञान मिलेको खेलाडीहरु बताउछन् । अनुशासन, टिमवर्क, हजारौँ साथिहरु नै खेलका मुख्य उपलब्धी रहेको उनीहरुको भनाइ छ । तर खेल व्यावसायीक बन्न नसकेको उनीहरुको दुःखेसो छ । ‘२० वर्षदेखि म यो खेलमा आबद्ध भएपनि शिक्षक पेशा अपनाउनुपरेको अवस्था छ । यही खेलबाट रोजीरोटि चलेको भए म यसैमा केन्द्रित हुन्थे, कति धेरै खेलाडी उत्पादन गरिरहेको हुन्थे होला’ क्षेत्रीले भनिन् ।
एककप चिया खुवाउन अर्काको भर पर्नुपर्ने अवस्था भएकाले खेलाडीको आयस्तर बृद्धि गर्नुपर्ने र सरकारले लोकसेवा आयोग, शिक्षक सेवा आयोग जस्तै खेलाडीहरुलाई पनि आयोगबाट लिएर काम दिनुपर्ने उनको तर्क छ । पाठ्यक्रममा स्वास्थ्य शिक्षा विषयमा पिटि खेलसंगै अन्य खेलहरु समावेश गर्नुपर्ने र अनिवार्य सबै विद्यलायमा एकजना खेल शिक्षकको व्यवस्था गर्न खेलाडीहरुको माग छ । जसले गर्दा हजाराँै विद्यार्थीले विद्यालयमार्फत खेल खेल्न, सिक्न पाउछन् । खेलाडी पहिचान र उत्पादनमा पनि यसले सघाउ पुग्ने उनीहरुको विश्वास छ ।
तेक्वान्दोमा सेतो बेल्ड मार्फत खेलाडीको यात्रा सुरु हुन्छ । पहेँलो, हरियो, निलो हुँदै कालो बेल्ड पाउनका लागि धेरै चरणहरु पार गर्नुपर्ने खेलको नियम छ । वि.सं. ०५७ सालमा ब्ल्याक वेल्ट लिँदा देशभर तीन सय ६५ जना खेलाडी रहेकोमा क्षेत्री राष्ट्रिय खेलमा बेस्ट प्लेयर बनेकी थिइन् । उनीसँगै यसक्षेत्रबाट सृजना चौधरी, किरण यादव लगायत झण्डै एक दर्जन महिलाहरुले राष्ट्रियस्तरका खेलहरु खेलिसकेका छन् । सृजना चौधरी गोल्ड मेडलिष्टसमेत हुन् ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने इच्छा भएपनि फिल्ड खेलाडीको अनुकलमा नहुँदा समस्या भएको क्षेत्री बताउछिन् । ‘विद्यालयको फिल्डमा माटो छ । माटोमा ड्रेस सेतो भएकाले बिग्रने डर हुन्छ । कवर्ड हल, टे्रनिङ सेन्टर भएको भए सहज हुन्थ्यो ।’ उनले भनीन्, ‘बाँके जिल्लामा एउटा मात्र कवर्ड हल छ । स्थानीय पालिकाहले वडा तहदेखि नै खेलकुदको विकास गर्नका लागि अब चासो देखाउनुपर्छ ।’
अभिभावकहरुले खेल खेल्नका लागि चासो दिइरहेको मौकामा सरकारले पनि उनीहरुलाई टिकाउनका लागि कदम चाल्न ध्यान दिनुपर्ने खेलाडीहरुको भनाइ छ ।