भारतको नौकरीले सिकाएको होजियारी उद्यम
Saturday, December 18th, 2021, 10:16 am
Kalpristha
–वीरेन्द्र जैसी
मध्य तथा सुदुरपश्चिमको रोजगारीको अन्तिम विकल्प भारत । तीन दशकअघि बैतडीका पदमबहादुर चन्दले पनि रोजगारीका लागि भारतकै बाटो समाएका थिए । तर, उनले अरुले जस्तो भारतमै जिन्दगी बिताएनन् । त्यहाँ सीप सिकेर त्यसलाई आफ्नै देशमा उपयोग गरे । होजियारी उद्योगहरु नभएको र स्विटरका लागि भारतकै भर पर्नुपर्ने गरेका बेला उनले नेपालगन्जमा होजियारी उद्योग भित्र्याए । नेपालगन्ज-२ घरबारीटोलमा रहेको एबीसी होजियारी उद्योग नेपालगन्जको होजियारी उद्योगमध्ये एक प्रसिद्ध ब्राण्ड हो ।
पदमबहादुर चन्द
भारतमा काम गर्न जानेहरुको भाग्यमा राम्रो काम विरलै पर्छ । चन्दको सौभाग्यले उनले एउटा गार्मेन्ट कम्पनीमा काम गर्ने मौका पाए । गार्मेन्टमा काम गर्न उनीसँगै उनका भाइलगायत गाउँका अरु व्यक्तिहरु पनि थिए । त्यहाँ उनले करिब एक दशक काम गरे । ‘जति काम गरेपनि परदेश भनेको परदेश नै हो । न सोचेजस्तो कमाई न सम्मान,’ चन्द भन्छन् ।
गार्मेन्टमा काम गर्दागर्दै पदमबहादुरले उक्त समयको भरपूर उपयोग गरे, सीप सिक्नमा । गार्मेन्टका आवश्यक सीपका साथै मेसिन चलाउन पनि उनले सिके । मेसिनको विषयमा ज्ञान हासिल गरे ।
उनी काम गर्दा आफ्नो देश सम्झिन्थे । देशमा झुत्रा कपडामा जाडो काटिरहेका गाउँले सम्झिन्थे । उक्त कपडा कहाँबाट आउँछ होला उनको कल्पनामा आउँथ्यो । त्यहाँ काम गर्दागर्दै उनले थाहा पाए, उनको गाउँमा लगाइने कपडाहरु पनि भारतबाटै आउँदो रहेछ । उनको मनमा खेल्न थाल्यो, ‘अर्काको देशमा, अर्काको कम्पनीमा काम गरेर उत्पादन गरेको सामान फेरि आफ्नै देश जाँदो रहेछ । आफ्नै देशमा किन उत्पादन नगरिएको होला ? यतिको मेसिनहरु राखेर त आफ्नै देशमा पनि उत्पादन गर्न सकिन्छ ।’
उनले स्वदेश आएको बेला कपडाको बजारका बारेमा बुझ्न थाले । यहाँ त्यतिबेला एउटा पनि कपडा तयार गर्ने उद्योग नभएको थाहा पाए । उनको मनका आफैले त्यो काम गर्न सकिन्छ कि भन्ने लाग्न थाल्यो । उनले मेसिनको मुल्य र लगानी बुझे । कपडा नै तयार गर्ने गार्मेन्ट नै उत्पादन गर्न अलि बढी लगानी चाहिने थाहा पाए । तर, उनको गाउँमा अति आवश्यक जाडोमा लगाउने स्विटर उत्पादनको लागि भने केही मेसिनको जोरजाम गरेमा उद्योग सुरु गर्न सकिने उनले देखे । उनीसँग मेसिन सन्चालन गर्ने र आवश्यक अरु सीप छँदै थियो । श्रीमतिलाई पनि आवश्यक सीप सिकाएर काम सुरु गर्न सकिने निणर्यमा उनी पुगे ।
नेपालगन्जमा करिब डेढ दशकअघि उनले होजियारी उद्योग सुरु गर्दा नेपालगन्जमा एउटा मात्रै होजियारी उद्योग थियो । उक्त उद्योग अहिले नेपालगन्जमा छैन । ‘नेपालगन्जमा अहिलेसम्म चलिरहेको पुरानो होजियारी उद्योग मेरै हो,’ चन्द दाबी गर्छन् ।
उनको उद्योग सुरु गर्दा मेसिनको आयातमा पनि उत्तिकै समस्या थिए । तैपनि उनले भारतबाट मेसिनि भित्र्याए र नेपालगन्ज-४ मा एक घरमा भाडा तिरेर उद्योग सन्चालन गरे । उद्योगमा उनलाई साथ दिइन् उनकी श्रमितिले । विद्यालय रनियमित प्रयोगका स्विटर नेपालगन्जमै उल्लेख्य मात्रामा उत्पादन सुरु भए । तर, बाँकेका उपभोक्ताहरुले भारतमा गएर स्विटर किन्ने चलन छाडेनन् । अरु त अरु विद्यालयहरुले पनि भारतमा व्यापारीसँग सेटिङ गरे उतैबाट ल्याउने क्रम जारी राखे । त्यो क्रम अहिले पनि जारी छ । ‘हामी कपडा तया गर्ने उद्योगहरुको पीडा हो यो । हाम्रा उत्पादन नकिनेर यहाँको भन्दा कमसल उत्पादनहरु रुपैडिहा गएर किनेर ल्याइदिन्छन् । विद्यालयहरुले त बालबालिकालाई स्वदेशी उत्पादनको प्रयोग सिकाउनुपर्नेमा रुपैडिहा गएर तोकिएको व्यापारीबाट किनेर ल्याउन भन्छन्,’ पदमले भने ।
नेपालगन्ज र बाँकेका उपभोक्ता रुपैडिहा पुगेपनि कर्णाली र सुदुरपश्चिमका पहाडी जिल्ला र बर्दिया, दाङ लगायतका जिल्लाका उपभोक्ता र विद्यालयले उनको उत्पादनलाई खुब माया गरे । अधिकांश उपभोक्ता र उनका सहयोगी व्यापारीहरु अप्रत्यक्ष सम्पर्कबाटै ग्राहक भने । त्यसमा उनका उत्पादनको गुणस्तर देखेर उनीहरु आफै सम्पर्कमा आएकाहरु धेरै छन् । पदम भन्छन्, ‘पहाडतिरका अधिकांश व्यापारी र उपभाक्तासँग त परिवारजस्तै सम्बन्ध छ । उनीहरु पैसा पठाइदिन्छन् हामी सामान पठाइदिन्छौँ । कितपयसँग त अहिले पनि भेट भएको छैन । कहिलेकाहीँ म्यासेन्जरमा कुराकानी हुन्छ ।’
कुनैबेला भारतमा अर्कै कम्पनीको उत्पादनमा कम्पनीको ट्याग लगाउने पदमबहादुरको छोराको नामको (एबीसी होजियरी)कम्पनीको ट्यागसहितको स्विटर हाल हजारौँ मानिसहरुको शरीरलाई न्यानो दिइरहेका छन् । यसले पदमलाई खुसी त दिन्छ नै । साथै उद्योगलाई गार्मेन्ट उद्योगमा स्तरबृद्धि गर्ने योजना पूरा नभएको चिन्ता पनि लाग्छ । अहिले उनको उद्योगमा उनका छोरा पनि सघाउन थालिसकेका छन् । उनको ईच्छा छ होजियारीलाई गार्मेन्ट उद्योगमा बदलेर छोरालाई हस्तान्तरण गर्न पाइयोस् ।