‘शिक्षाको रुपान्तरणमा उपन्यास ‘कखरा’ मार्गदर्शक बन्न सक्छ’
Saturday, December 18th, 2021, 6:39 pm
Kalpristha
कालपृष्ठ समाचार
नेपालगन्ज, ३ पुस
विद्यार्थीलाई कसरी सिकाउनुपर्छ, शिक्षक कस्तो हुनुपर्छ, अभिभावकले के ख्याल गर्नुपर्छ भन्ने विषय रचिएको उपन्यास कखरामाथि नेपालगन्जमा समीक्षा गरिएको छ । प्रहरी स्कुल काभ्रेका शिक्षक समेत रहेका लेखक शिक्षक हरिहर तिमिल्सिनाद्वारा लिखित यो उपन्यासमाथि भेरी साहित्य समाज र कृष्णसार एफएमको सहकार्यमा एक कार्यक्रम गरी समीक्षा गरिएको हो । लेखक तिमिल्सिनासमेतको उपस्थितिमा भएको कार्यक्रममा समीक्षकद्वय लेक प्याकुरेल र इश्वरी रिजालले समीक्षा गरे ।
समीक्षकद्वयले उपन्यास नेपाली शिक्षापद्धतिको रुपान्तरणका लागि एक मार्गदर्शक बन्न सक्ने कृति भएको धारणा राखे । समीक्षक प्याकुरेलले भने, ‘अहिले यहाँ शिक्षाको नीति निर्माता वा पाठ्यक्रम निर्माता कोही भएको भए म उहाँलाई विश्वविद्यालयमा पढाइने शिक्षण विधिका सिद्धान्तमा हरिहर तिमिल्सिनालाई पनि समावेश गर्न आग्रह गर्ने थिएँ ।’ उनले उपन्यासले एक असल मानिसलाई सानै उमेरदेखि कसरी अभिभावकले र शिक्षकले बर्बाद पार्छन् भन्ने देखाएको र त्यसको समाधानको उपाय पनि दिएको उल्लेख गरे ।
समीक्षक रिजालले उपन्यासको शैलीवैज्ञानिक समीक्षा गर्दै पाठकलाई तानिराख्न र वर्तमान शिक्षा पद्धतिमाथि विचार गर्न बाध्य पार्नेगरी कथावस्तु रचिएको उल्लेख गरे । कार्यक्रममा आफ्नो पाठकीय प्रतिक्रिया व्यक्त गर्दै किशोरी कृति फुयालले उपन्यासले आफूमा परिवर्तन गराएको बताइन् । उनले कृतिले विद्यार्थीको चाहनाअनुसार सिकाई पद्धति र शिक्षाको अभाव रहेको आफूले प्रष्ट बुझेको बताइन् ।
वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आतिथ्यता र भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
के छ उपन्यासमा ?
उपन्यासको मूल पात्र सफल पहिले सरकारी विद्यालय पढ्छ, कोर्स भन्दा बाहिरको किताब पढ्न र चेस खेल्न रुचि राख्ने ऊ त्यहाँ फेल हुन्छ । खराब विद्यार्थीमा दरिन्छ, विद्यालयले निष्कासन गर्न खोज्छ ।
निजी विद्यालयमा पनि चर्को शुल्क, विद्यार्थीमाथिको नियन्त्रण, ट्युसन, अतिरिक्त कक्षा, परीक्षाको बोझ खुबै देखिन्छ । नेपालका स्कुलमा विद्यार्थीलाई प्रश्न सोध्न निषेधजस्तै छ । शिक्षाको यस्तै-यस्तै चित्र देखाउनुका साथै विद्यालय त यस्तो पो हुनुपर्छ भन्ने उदाहरण पनि यो पुस्तकले देखाएको छ । उपन्यासमा तीन खण्ड छन् । पहिलो खण्डमा सरकारी विद्यालय र दोस्रोमा निजी विद्यालयको पाटो केलाइएको छ । तेस्रोमा एक आदर्श विद्यालयको कल्पना गरिएको छ । सरकारी विद्यालयको प्रतिनिधित्व बरदायिनी स्कुलले, निजी विद्यालयको प्रतिनिधित्व शिक्षा शिविर स्कुल र आदर्श विद्यालयको परिकल्पना प्रेम शिविरले गरेको छ ।
उपन्यासले सरकारी र निजी विद्यालयका कमजोरी र अवगुणलाई गहिरो गरी खोतल्नुका साथै विद्यार्थीलाई यसरी सिकाऊ भनेर नयाँ अवधारणा पनि प्रस्तुत गरेको छ । प्रेम शिविर जहाँ विद्यार्थीलाई किताब मात्र पढाइँदैन, जीवनोपयोगी सीप पनि सिकाइन्छ, प्रश्न गर्न प्रेरित गरिन्छ, शिक्षकहरु साथीजस्ता छन् । त्यहाँ व्यावहारिक र जीवनोपयोगी सीप सिकाइन्छ ।
पुस्तकले प्रवेश परीक्षा लिएर विद्यार्थी छान्ने नेपालका स्कुलहरुको चलनलाई बेठीक भन्छ । निजी विद्यलयमा हुने शिक्षकको श्रम शोषण, विद्यार्थी भित्र्याउन देखाइने तडकभडक र यथार्थबीचको अन्तर पनि राम्रोसँग केलाइएको छ । पुस्तकले शिक्षक, अभिभावकको कमजोरी पनि राम्रोसँग औंल्याएको छ ।