साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख प्रदान
Tuesday, December 21st, 2021, 4:37 pm
Kalpristha
१३ औं संस्करणको साफ च्याम्पीयनसिप प्रतियोगितामा उपविजेता हुन सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपविजेता टिमका खेलाडीहरुलाई जनही पाँच लाख नगदसहित सम्मान गरेका हुन् ।
पुरस्कृत हुने खेलाडीहरुमा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा रहेका छन् । उनीहरुले जनहि पाँच लाख नगद तथा सम्मानपत्र प्राप्त गरे ।
त्यसैगरी राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी र प्रशिक्षकद्वय किरण श्रेष्ठ र विकास मल्ललाई समेत जनही तीन लाख नगद सहित सम्मानपत्र उपलब्ध गराईएको छ । प्रतियोगितामा सहभागी अफिसियललाईसमेत प्रमाणपत्रले सम्मान गरीएको छ ।
खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । खेलाडीहरुले खेलको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको उल्लेख गर्दै उनले खुसी समेत व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडीहरुको हौसला बढाउन सरकार तत्पर रहेको बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडी तथा प्रशिक्षकहरु स्वतः पुरस्कृत हुने गरी सरकारले सम्मान तथा पुरस्कार कार्यविधि ल्याउन लागेको उल्लेख गर्दै मन्त्री अथकले सम्मानले खेल क्षेत्रको विकासमा महत्वपूणर् सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही पाँच लाख तथा प्रशिक्षकलाई तीन लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयले मंगलबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो ।