डोल्पामा यौन दुर्व्यवहारका घटनामा बृद्धि
Tuesday, December 21st, 2021, 4:52 pm
Kalpristha
पछिल्लो समय डोल्पामा बलात्कार र यौन दुव्र्यवहारका घटनाहरुमा बृद्धि भएको इन्सेक डोल्पाले जनाएको छ । मानवअधिकारको क्षेत्रमा लामो समय देखि कार्यरत संस्था इन्सेकले उल्लंघन र ज्यादतीका घटनाहरुको अवस्थाबारे गरेको पूर्वसमिक्षा कार्यक्रममा प्रस्तुत विवरणहरुमा बलात्कारका घटनामा बृद्धि भएको पाइएको हो ।
इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले सार्वजनिक गरेको विवरणमा बलात्कारका तीन, कुटपिटका तीन, तोफोड र आगजनी एक र सामुहिक भडप एक ओटा गरेर आठ ओटा घटनाहरु उल्लेख छन् । कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका कार्यकारी अधिकृत प्रितीभक्त गिरीले विगतको तुलनामा घटनाहरुको संख्या थोरै भएको पाइएपनि बलात्कारका घटनामा बृद्धि भएको पाइनु दुःखद कुरा भएको बताए ।
भूगोलको अवस्थालाई मध्यनजर गर्ने हो भने जिल्लाका विकट बस्तीहरुमा मानवअधिकार विपरितका धेरै घटना घटेको भएपनि अभिलेखीकरणमा छुटेको पनि हुन सक्ने भएकाले सबैले यसप्रति सचेत हुनु पर्ने समत गिरीले बताए ।
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय नागरिक समाज, महिला सन्जालका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।