बाँकेमा १८ वर्षमाथिका ६० प्रतिशतले पाए खोप
Tuesday, December 21st, 2021, 6:53 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
बाँकेको १८ वर्षमाथिका ५७ प्रतिशत र समग्रमा ४२ प्रतिशत मानिसले कोरोनाको खोप लगाएका छन् । बाँके जिल्लाको कूल अनुमानित जनसंख्या ६ लाख १९ हजार तीन सय ३७ मध्ये १८ वर्षभन्दा माथि उमेर समुहका करिब चार लाख ६ हजार एक सय पाँच जना रहेको अनुमान गरिएको छ । तीमध्ये लाई खोप लगाउन सकिन्छ । २०७८ मंसिर २९ गतेसम्म जिल्लाका दुई लाख ६४ हजार चार सय ३१ जनाले खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
१८ वर्षभन्दा माथिको खोप लगाउने जनसंख्या हेर्दा प्रत्येक पालिकाको औसतमा ६२ देखि ६५ प्रतिशतले खोप लगाएका उनले बताए । जिल्लामा २०७७ माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिएको थियो । जिल्लामा सबैभन्दा बढी नेपालगन्ज उप-महानगरपालिकामा खोप लगाइएको छ । हाल हरेक दिन खोप लगाइने गरिएकोले करिब मुख्य लक्षित समूहका करिब ६० प्रतिशत जनसंख्यामा खोप पुगेको श्रेष्ठले दाबी गरेका छन् ।
२५ प्रतिशतले लगाएनन् दोस्रो डोज
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मंसिर २९ गतेसम्म जिल्लाका एक लाख ४१ हजार ६ सय ७४ जनालाई खोप लगाउन बाँकी रहेको देखिन्छ । तीमध्ये करिब २५ प्रतिशतले पहलो मात्रा लगाएर दोस्रो खोप नलगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा रहेको आठ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी नेपालगन्ज उप-महानगरपालिकामा खोप लगाउन बाँकी रहेको तथ्यांक रहेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा बाँकी रहेको देखिन्छ ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार नेपालगन्ज नगरमा ३२ हजार चार सय १८ जना, कोहलपुरमा १६ हजार पाँच सय ३२ जना, खजुरा गाउँपालिकामा ११ हजार आठ सय ५० जना, जानकी गाउँपालिकामा ११ हजार दुई सय ४९ जना, बैजनाथ गाउँपालिकामा २० हजार सात सय ४७ जनाले खोप लगाएका छैनन् । त्यस्तै राप्ती सोनारी गाउँपालिकामा २२ हजार नौ सय ६४ जना, डुडुवा गाउँपालिकामा १० हजार एक सय १९ जना र नरैनापुर गाउँपालिकामा १५ हजार पाँच सय ९४ जनाले खोप लगाएका छैनन् ।
स्वास्थ्य कार्यालयका अनुसार दोस्रो खोप लागाउने संख्या २५ प्रतिशतले कम हुनुमा खोपको पहुँच कम भएका कारण हुन सक्ने अनुमान छ । कार्यालयका प्रमुख शाहले पहिलो खोप लगाउँदा दोस्रो खोपको समय नै निश्चित गर्न नसकेका कारण दोस्रो खोपबाट केही मानिस वञ्चित हुन पुगेको बताए ।
उनले कतिपय अवस्थामा भारतिय सीमा भएका रकाण केही व्यक्तिले भारतमै खोप लगाएको हुनसक्ने अनुमान गरे ।
सबैलाई खोप उपलब्ध गराउने तयारी
स्वास्थ्य कार्यालयले स्थानीय निकायको समन्वयमा सबैलाई खोपको दायरामा ल्याउने तयारी गरेको छ । कार्यालयले आगामी योजनामा पहुँच नपुगेका बस्ती, जाती, धर्मको विशेष पहिचान कोभिड-१९ पूणर् खोपका लागि स्थानीयमा कार्ययोजना बनाउने तयारीमा रहेको छ ।
कार्यालयका प्रमुख शाह हरेक व्यक्तिलाई खोप लगाउने अबको योजना रहेको बताउँछन् । उनले जिल्लामा रहेका १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई पनि खोप अभियान संचालनमा ल्याइएको जानकारी दिए ।