नेपाल-भारत सुरक्षा अधिकारीबीच सीमापार अपराध र लागुऔषध नियन्त्रणको प्रतिबद्धता
Wednesday, December 22nd, 2021, 8:05 pm
Kalpristha
नेपाल भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको समन्वयात्मक बैठक नेपालगन्जमा सम्पन्न भएको छ । छलफलमा नेपालका ८ वटा जिल्ला र भारतको उत्तरप्रदेशका ७ वटा जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।
नेपालका तर्फबाट नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका सुरक्षा अधिकारीहरु सहभागी थिए । भारतका तर्फबाट हजाराजगन्ज, सिद्धार्थनगर, बलरामपुर, श्रावस्ती, बहराइच, लखिमपुर, पिलिभित लगायतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी थिए ।
बैठकमा नेपालका तर्फबाट दुईवटा मुख्य सुरक्षा चुनौतिका विषयवस्तुमा छलफल गरिएको छ । नेपालका सुरक्षा अधिकारीहरुले खुला सीमाका कारण हुने अपराध नियन्त्रणका चुनौतिविरुद्ध समन्वय र सहकार्य एवं लागुऔषधको ओसारपसार नियन्त्रणका विषयमा बैठकमा छलफल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
नेपालका सुरक्षा अधिकारीहरुले नेपालमा अपराध गरेर अपराधीहरु भारतमा गएर लुक्ने र उनीहरुलाई पक्राउ गर्न भारतीय सुरक्षा निकायको साथ र समन्वय आवश्यक रहेको विषय बैठकमा राखेका छन् । प्रजिअ खत्रीले भने, ‘नेपालमा अपराध गरेर अपराधीहरु भारत पस्ने र उनीहरुलाई पक्राउ गर्दा हामीलाई उताको काउन्टरपार्टको सहयोग आवश्यक हुने कुरा राख्यौँ । भारतका तर्फबाट पनि त्यस्तै खालको अपेक्षा प्रस्तुत भयो ।’
नेपालका सुरक्षा अधिकारीहरुले औंल्याएको अर्को सुरक्षा चुनौतिको विषय लागुऔषधको कारोबार र प्रयोग रहेको छ । बाँकेकै सन्दर्भमा भारतबाट लागुऔषध लिएर आएका मानिसहरुलाई सीमामा प्रहरीले दिन बिराएर पक्राउ गरिरहेको हुन्छ । यस्तो अवस्थामा सुरक्षा बैठकमा लागुऔषधको सीमापार कारोबार नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायहरुबीच समन्वयको आवश्यकता औँल्याइएको छ ।
नेपालका लागुऔषध प्रयोगकर्ताहरु भारतीय सीमावर्ती बजार गएर प्रयोग गरेर आउने समस्या पनि रहेको छ । भारतबाट लागुऔषध सहज रुपमा उपलब्ध हुने कुरालाई निस्तेज पार्न पनि नेपालका सुरक्षा अधिकारीहरुले समन्वयको आवश्यकता औंल्याएका छन् । यसका साथै कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका विषयमा पनि दुई देशीय सहकार्यको आवश्यकताका विषयमा बैठकमा छलफल गरिएको छ ।
भारतको सुरक्षा चासोमा आसन्न निर्वाचन
भारतका सुरक्षा अधिकारीका तर्फबाट मुख्यगरी जनवरीमा हुन गइरहेको विधानसभाको निर्वाचनका लागि लिएर सुरक्षा चासो व्यक्त भएको छ । निर्वाचनका बेला सीमा आवतजावत व्यवस्थापन र संभावित अपराध नियन्त्रणको विषयमा भारतीय सुरक्षा अधिकारीहरुले बैठकमा विषयवस्तु प्रस्तुत गरेको बाँके प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।
यस किसिमका बैठकहरु समयसमयमा हुने गरेकोमा यसपटक ठूलो उपस्थितिमा बैठक सम्पन्न भएको खत्रीको भनाइ छ ।