अब नेपालगन्जमै रगत क्यान्सरको विशेषज्ञ सेवा
Wednesday, December 22nd, 2021, 8:13 pm
Kalpristha
अब नेपालगन्जमै रगत क्यान्सरको विशेषज्ञ सेवा प्राप्त हुने भएको छ । नेपालगन्ज धम्बोझीस्थित कान्ती आरोग्य हस्पिटलले भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत रगत तथा रगत क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झालाई हरेक महिनाको दुई दिन उपलब्ध गराउने भएको हो । महिनाको पहिलो हप्ताको दुई दिन डा. झा नेपालगन्ज आएर बिरामीहरुको चेकजाँच गर्नेछन् ।
भारतको चण्डीगढबाट एमडी, डिएम गरेका डा. झाले पश्चिम नेपालमा रगत क्यान्सरका बिरामीहरु बढी रहेपनि विशेषज्ञ डाक्टरहरुको अभावमा उपचार पाउनबाट बन्चित रहेकोले आफूले नेपालगन्जमा आएर सेवा दिन खोजेको बताए । कालपृष्ठसँग कुरा गर्दै डा. झाले भने, ‘सबैभन्दा जटिल क्यान्सर भनेकै रगत क्यान्सर हो । हप्तादिनभित्र रोग पत्ता लगाएर उपचारमा जान सकिएन भने बिरामी हाम्रो हातबाट निस्कन सक्छ ।’
तर यस क्षेत्रका बिरामीहरुको रोग पत्ता लगाउनै लामो समय लाग्ने, अनेक अस्पताल धाइसकेपछि मात्रै विशेषज्ञकहाँ पुग्ने गरेका कारण उपचार महंगो पर्नुका साथैै ज्यान पनि जोखिममा पर्ने गरेको उनले बताए ।
पश्चिम नेपालमा रगतको रोगमा सबैभन्दा बढी सिकलसेल र थाइलेसिमियाको बिरामीहरु बढी रहेको डा. झाले बताएका छन् । सिकलसेल र थाइलेसिमिया दुबै रगतमा देखिने एक किसिमका वंषाणुगत रोग रहेको र त्यसले थारु समुदाय सबैभन्दा बढी प्रताडित रहेका उनले बताए । यस किसिमका बिरामीहरुलाई समय-समयमा रगतको परिपूति गरिराख्नुपर्ने भएकोले स्वास्थ्य संस्थाहरुले विशेष प्राथमिकता दिनुपर्ने डा. झाको भनाइ छ ।
भेरी अस्पतालमा सिकलसेलका बिरामीको उपचार सेवा सन्तोषजनक नरहेको पनि डा. झाले बताए । ‘सुरुवातमा जुन किसिमले सेवा सुरु भयो । त्यहीअनुसारको सेवा निरन्तर नभएको पाएँ । यस्ता खालका बिरामीहरुलाई आवश्यक हेमोग्लोबिन मात्रै छुट्याएर उपलब्ध गराउनुपर्नेमा सिंगै रगत नै उपलब्ध गराइन्छ । अलग्गै डे केयर सेवा छैन । उनीहरुका लागि इमरजेन्सीमा छुट्टै व्यवस्था छैन । यी सबै सेवा सामान्य हुन् । तर उपलब्ध हुन सकेका रहेनछन्,’ डा. झाले भने ।
सही उपचारको खोजीमा पन्ध्र लाख बढी खर्च

मीनबहादुर बस्नेत
प्युठानको खैराबाङका ५१ वर्षीय मीनबहादुर बस्नेतलाई करिब तीन वर्षअघि रक्तश्राव, हड्डी दुख्ने लगायतका लक्षणहरु देखिए । गाउँमै सामान्य उपचारले काम नगरेपछि उनी नेपालगन्ज पुगे । नेपालगन्जमा पनि उनलाई के भएको हो? यकिन भएन । तर क्यान्सरको लक्षण देखिएको भन्दै चितवन क्यान्सर हस्पिटल पठाइए । चितवनमा पनि रोग पत्ता लागेन । अन्तमा उनी काठमाडौंको सिभिल हस्पिटल पुगे । सिभिल हस्पिटलमा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो ।
तर अस्पतालले उक्त रोग निको नहुने भन्दै अगाडीको उपचार नहुने बतायो । तर, उपचारको आशामा भौतारिँदै जाँदा उनी भक्तपुर क्यान्सर अस्पताल पुगे । अस्पतालमा रगत क्यान्सर रोग विशेषज्ञ डा. अजय कुमार झाले उपचार गरे । हाल मीनबहादुर पूणर् स्वस्थ भइसकेका छन् ।
बुधबार नेपालगन्जमा डा. झाले उनको रिपोर्ट हेरिसकेपछि भने,‘अब त पूणर्तया स्वस्थ भइसक्नुभएको छ ।’ डा. झाले यसो भन्दै गर्दा मीनबहादुरको अनुहारमा खुसी झल्कियो । उनले भने, ‘अब बाँच्दैनस् भनेको मान्छे क्यान्सरबाट मुक्त भएको सुन्दा बहुत खुसी भएको छु ।’
तर उनको उपचारमा करिब १५ लाखभन्दा बढी रकम सही उपचार पाइने ठाउँभन्दा अगाडिकै उपचारमा खर्च भइसकेको रहेछ । ‘अहिलेसम्म करिब २५ लाखभन्दा बढी खर्च भयो होला । तर, १० लाखमात्रै सही उपचारमा र त्यसका लागि धाउँदा खर्च भयो होला । बाँकी त सही डाक्टर खोज्दा खोज्दै सकियो,’ उनले भने ।
डा. झाले उनलाई देखिएको क्यान्सर एकदमै धेरै मानिसलाई देखिने क्यान्सर भएको बताए । उक्त क्यान्सरको उपचार गर्दा भारतमा करिब ३० लाख खर्च हुने गरेकोमा नेपालमा करिब सात देखि १० लाखमा हुने गरेको आफूले प्रमाणित गरेको बताए । तर, अधिकांश बिरामीहरुको पैसा सही उपचारको खोजीमै खर्च हुने गरेको छ । नेपालमा रगत क्यान्सरका करिब आधा दर्जन चिकित्सकहरु मात्रै रहेकोमा उनीहरु पनि काठमाडौंमा मात्रै केन्द्रित रहेको उनले बताए ।
जसरकारण बिरामीहरुले चिकित्सकको खोजी गर्दा गर्दै पैसा र स्वास्थ्य जोखिममा पर्ने गरेको बताए । डा. झाले यस समस्याको समाधानमा राज्यले ध्यान दिनुपर्ने र अस्पताल एवं चिकित्सकहरुले सकेसम्म चाडो सही ठाउँमा रिफर गर्नुपर्ने बताएका छन् ।