१७ लाख बढी छात्रवृत्ति वितरण
Wednesday, December 22nd, 2021, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ पुस
समुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले १७ लाख बढी छात्रवृत्ति वितरण गरेको छ । कमिटले आर्थिक वर्ष २०७७/०७८ मा बाँके र बर्दियाका विद्यार्थीलाई १७ लाख ४६ हजार दुई सय ६६ रुपैयाँको छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
बुधबार कमिटले आयोजना गरेको सामाजिक लेखाजोखा एवम् सर्वजनिकीकरण कार्यक्रममा संस्थाले गत आर्थिक वर्षमा गरेका गतिविधिका बारेमा जानकारी गराइएको हो । कमिटले ६० जना विद्यार्थीलाई एक वर्षसम्म लाग्ने सम्पूणर् खर्च उपलब्ध गराएको जनाएको छ । जसमा उच्च शिक्षासम्मका बादी समुदायका बालबालिकालाई छात्रवृद्धि प्रदान गरिएको थियो ।
त्यस्तै कमिटले गत आर्थिक वर्षमा बाँके र बर्दियाका विभिन्न स्वास्थ्य संस्थालाई पनि विभिन्न सामाग्री हस्तान्तरण गरेको थियो । जसमा भेरी अस्पताललाई दुई सय अक्सिनसहितको सिलिण्डर कमिटले उपलब्ध गराएको थियो । त्यस्तै अन्य स्वास्थ्य केन्द्रमा आवश्यकता अनुसार अभाव भएका सामानहरु पनि कमिटले उपलब्ध गराएको थियो ।
त्यसैगरी गत वर्ष कमिटले बाँके र बर्दियाका आर्थिक अवस्था नाजुक भएका बादी समुदायका परिवारको घर निर्माणमा सहयोग, कोभिडबारे विभिन्न समयमा विभिन्न स्थानमा अन्तरक्रियालगायतका कामहरु गरेको जनाएको छ ।
कमिटका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा संचालन भएको सामाजिक लेखाजोखा एवम् सर्वजनिकीकरण कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपालगन्ज उप-महानगरपालिकाकी मेयर उमा थापामगर रहेकी थिइन् ।
कार्यक्रममा मेयर थापाले संस्थाले गरेका राम्रा कामहरुलाई बाहिर ल्याउनु पर्ने बताइन् । उनले संस्थाले गरेका गतिविधि बाहिर ल्याउँदा कमी कमजोरीका साथै आगामी योजनाका तर्जुमा गर्न समेत सहज हुने उनले बताइन् ।
मगरले बादी समुदायलाई सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा सूचनको हकको प्रयोग गरी सरकारका नीति, योजनाका बारेमा जानकार हुन मगरले आग्रह गरिन् ।
अध्यक्ष नेपालीले बादी समुदायका सबै बालबालिका शिक्षाको पहुँचमा पुर्याउन आफूले सक्ने कोसिस गर्ने बताए । उनले बादी समुदायका समस्यालाई स्थानीय निकायसँग प्रत्यक्ष समन्वय गरेर समस्याको समाधानमा संस्थालाई केन्द्रित गराउने बताए ।