बाँकेका मैकुलाल कांग्रेसका केन्द्रिय सदस्यमा निर्वाचित
Wednesday, December 22nd, 2021, 10:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ८ पुस
बाँकेले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पाएको छ । बाँकेका मैकुलाल बाल्मिकी नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । उनले दलित खुला तर्फ १ हजार ९ सय मत ल्याएर केन्द्रिय सदस्य बनेका हुन । दलित खुला पुरुष केन्द्रिय सदस्यमा ५ जना निर्वाचित हुनेमा आफु पाँचौं स्थानमा रहेर सफलता हासिल गरेको बाल्मिकीले बताए । केन्द्रिय सदस्यमा निर्वाचित भएपछि बाल्मिकीले बाँकेमा नेपाली कांग्रेसलाई बलियो बनाउने अभियानमा लाग्ने बताए ।
उनले भने, ‘म दलित समुदायको प्रतिनिधित्व गरेर केन्द्रिय सदस्यमा निर्वाचित भएको छु । आफनो समुदायको विकासँगै समग्र रुपमा बाँकेमा कांग्रेसलाई बलियो बनाउने कुरामा मेरो क्रियाशिलता हुनेछ ।’
कांग्रेसको महाधिवेशनमा बाल्मिकीको उमेदवारीलाई निकै चासोका साथ हेरिएको थियो । नेपालमा बाल्मिकी समुदायको संख्या निकै कम छ ।
बाल्मिकी नेपालको अल्पसंख्यक दलित समुदायमा पर्छ । सरकारी तथ्याक अनुसार नेपालमा करिब ७ सय घरधुरी बाल्मिकी समुदायको छ । बाँके, झापा, बर्दिया, धनगढी, नवलपरासी, वीरगन्जमा बाल्मिकी समुदायको बसोबास रहेको छ । शिक्षा र राजनितिमा बाल्मिकी समुदायको प्रतिनिधित्व प्राय शुन्य छ । तर बाँके नेपालगन्जका मैकुलाल बाल्मिकी भने अल्पसंख्यक समुदायमा उदाहरणीय नेता हुन ।
बाँके क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि भएर आएका मैकुलालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उमेदवारी दिएका थिए । संविधान सभा सदस्य समेत रहेका बाल्मिकी शिक्षा व्यावसायी हुन । शिक्षासँगै राजनितिमा पनि मैकुलाल सक्रिय नेताका रुपमा स्थापित नेता हुन ।
नेता बाल्मिकी २०७० सालमा तत्कालिन संविधान सभाको सदस्य हुन् । संविधान निर्माणको काममा महत्वपूर्ण भुमिका खेलेका उनी बाँकेबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
२०४६ सालको आन्दोलनमा पनि सक्रिय सहभागी भएका उनी २०६१-६२ को आन्दोलनमा सुरक्षाकर्मीबाट यातना पाएका थिए । ‘त्यतिबेला मैले सुरक्षाकर्मीबाट पाएको यातनालाई म कहिल्यै विर्सन सक्दैन, आफ्नो ज्यान भन्दापनि प्यारो त्यतिबेलाको आन्दोेलन थियो,’ उनले स्मरण गर्दै भने ।
पार्टीको वडा सचिव, नगर सचिव हुदै नेता बाल्मिकी नेपाली कांग्रेस बाँकेको जिल्लास्थित प्रशिक्षण विभाग प्रमुख भएका थिए । नेपाली कांग्रेसको भातृ संस्था दलित संघको संस्थापक सदस्य समेत रहेका उनले नेपाल सरकारको महिला तथा बालबालिका समिति सदस्य, नेपाल सरकारको स्वास्थ्य समितिका संयोजक भएर काम गरेका थिए ।