डुडुवाले गर्यो एक करोड ८२ लाखबढीको बजेट संशोधन
Friday, December 24th, 2021, 6:00 am
Kalpristha
७ कानुन पारित
गाउँसभामा अध्यक्ष चौधरीले विगत चार वर्षमा सीमित स्रोत र साधनका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिनाई भएको बताए । यद्धपि गाउँपालिकाको कामले जनतामा आशा र भरोशा पलाएको उनले दाबी गरे ।
बाँकेको डुडुवा गाउँपालिकाको दशौँ गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभाबाट कानुन पारित लगायतका विभिन्न महत्वपूणर् निणर्यहरु गरिएको छ । गाउँसभाले विभिन्न ७ वटा विधेयकहरु परित गरेको छ ।
सभाले डुडुवा गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई विधेयक २०७८, संस्स्था दर्ता विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्वास्थ्य नीति २०७८, डुडुवा गाउँपालिकाको स्थानीय पूर्वाधार व्यवस्थापन विधेयक २०७८, डुडुवा गाउँपालिकाको सार्वजनिक, निजी तथा अन्तरसरकारी साझेदारी विधेयक २०७८, डुडुवा गाउँपालिकाको स्थानीय सडक विधेयक २०७८ र डुडुवा गाउँपालिकाको प्रहरी विधेयक २०७८ गरी सात वटा विधेयक पारित गरेको हो ।
पारितपछि ती विधेयकहरु कानुनमा परिणत भएका छन् । पुस ६ गते विधायन समितिको बैठकले र पुस ७ गतेको कार्यपालिका बैठकले ती विधेयक गाउँसभामा पेश गर्ने निणर्य गरेको थियो । विद्यायन समितिका संयोजक लिलावती यादवले प्रस्तुत गरेका विधेयकहरु सभाले पारित गरेको हो ।
बजेटका कार्यक्रम संशोधन
गाउँसभाले गाउँपालिकाको चालु आर्थिक वर्ष २०७८-७९ को बजेट संशोधन पनि गरेको छ । पुस ७ गतेको कार्यपालिका बैठकले नै चालु आर्थिक वर्षको बजेटका केही कार्यक्रमहरुको बजेट कटौति गर्ने र केही कार्यक्रमहरुमा रकम थप गर्ने निणर्य गरेको थियो । जसलाई गाउँसभाले पारित गरेको हो ।
गाउँपालिकाले शिवको प्रतिमा र उद्यान निर्माणमा छुट्याएको ४९ लाख ९९ हजार रुपैयाँ बजेटलाई कटौति गरेको छ भने नर्सरी निर्माणको सात लाख, वृक्षारोपणको चार लाख, विपद व्यवस्थापन कोषको नौ लाख, कन्या मुद्धति शिक्षा योजनाको १० लाख, जग्गा व्यवस्थापन कार्यक्रमको २० लाख, बीउ प्रशोधन केन्द्रलाई अनुदानको ४० लाख, बीउ प्रशोधन केन्द्र सन्चालन तथा व्यवस्थापनको १२ लाख रुपैयाँ कटौती गरेको छ । यसैगरी कृषि विद्युतिकरण पोल तारको १५ लाख र सहकारी संस्थाको स्तर बृद्धि तथा व्यवस्थापनको पाँच लाख गरी विभिन्न १० वटा कार्यक्रमको एक करोड ८२ लाखबढीको बजेट कटौति गरेको छ ।
संसोधनबाट स्वास्थ्य पूर्वाधारमा २० लाख रुपैयाँ थप गरिएको छ भने स्वास्थ्य उपकरण खरिदमा ३० लाख, स्वास्थ्य जनशक्ति व्यवस्थापनमा २८ लाख, हेबी उपकरण सन्चालनको लागि इन्धनमा १० लाख, सीमान्तकृत सहायता तथा उपचार सहायता कार्यक्रममा १० लाख, ठूला मेला भण्डारा धार्मिक कार्यक्रममा संस्कृति प्रबद्र्धनका लागि लागि १० लाख, मन्दिर, मस्जिद र गुरुद्वाराको पूर्वाधार विकासमा २० लाख, सार्वजनिक निर्माण तथा पुँजीगत सुधारमा ३४ लाख र मागमा आधारित कृषि सामग्री वितरणमा २० लाख रुपैयाँ थप्ने निणर्य गरेको छ ।
मेडिकल अफिसरसहितको स्वास्थ्य सेवा दिनका लागि र इसिजी अल्ट्रासाउण्ड लगायतका उपकरणहरु जडान गर्ने कामका लागि स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा रकम थप गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
हालसम्म के-के भयो ?
गाउँसभामा अध्यक्ष चौधरीले विगत चार वर्षमा सीमित स्रोत र साधनका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिनाई भएको बताए । यद्धपि गाउँपालिकाको कामले जनतामा आशा र भरोशा पलाएको उनले दाबी गरे ।
चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म पशु स्वास्थ्य सेवा निःशुल्क गराइएको, आधारभूत स्वास्थ्य सेवाका लागि दुईवटा स्वास्थ्य केन्द्र र एउटा प्रयोगशाला स्थापना गरिएको, बीउ प्रशोधन केन्द्रमा प्रसेसिङ प्लान्ट सन्चालनका लागि कर्मचारी भर्ना गरिन लागिएको लगायतका उपलब्धिहरु गाउँपालिका अध्यक्षले प्रस्तुत गरे ।
साथै उनले हिरमिनियामा कोल्ड स्टोरको शिलान्यास गरिएको, प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको, घरदैलोमा व्यक्तिगत घटना दर्ता सेवा दिइएको, कन्या मुद्धति शिक्षा योजनाको निरन्तरता, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गरिएको, ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरिएकोलाई पनि उपलब्धिका रुपमा प्रस्तुत गरे ।
यसैगरी किसानहरुलाई पचार प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छात्राहरुलाई उच्च शिक्षामा सहयोगका लागि साइकल वितरण गरिन लागिएको, नापी सेवा सुरु गरिएको पनि अध्यक्ष चौधरी गाउँसभामा बताए ।