माघमा ‘नेपालगन्ज साइकल उत्सव’ आयोजना गरिँदै
Thursday, December 23rd, 2021, 8:06 pm
Kalpristha
नेपालगन्ज साइक्लिङ क्लबले यसवर्ष देशविदेशका साइकलेहरुको सहभागितमा ‘नेपालगन्ज साइकल फेस्टिवल-२०२२’ आयोजना गर्ने भएको छ । माघ १९ देखि २२ गतेसम्म नेपालगन्जमा नेपालगन्ज साइकल उत्सव -२०७८ (नेपालगन्ज साइकल फेस्टिवल-२०२२) को आयोजना गरिने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । सन् २०१९ बाट क्लबले टुर डे ठाकुरद्वार कार्यक्रमको आयोजना गर्दै आएको छ । यसवर्ष उक्त कार्यक्रमलाई थप परिस्कृत, नौलो तथा फराकिलो रूपमा अगाडि बढाउने उदेश्यले फेस्टिवल आयोजना गरिन लागिएको उनले बताए ।
उक्त उत्सवमा समावेश गरिने कार्यक्रम पनि क्लबले तय गरेका छ । माघ १९ गते कार्यक्रमको उद्घाटनसहित बृहत सचेतनामुलक साइकल यात्रा सहितको शहर परिक्रमा र रक्तदान, २० गते साइकलका विविध मुद्दामा केन्द्रित बहस र कार्यशाला, २१ गते बागेश्वरी मन्दिरदेखि बर्दिया जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ठाकुरद्वारसम्मको १०० किलोमिटरको साइकल यात्रा र थारु सस्कृती झल्किने साँस्कृतिक कार्यक्रम सहितको ‘ठाकुरद्वार साँझ-२०७८’ र २२ गते बिहान महिला र पुरुष गरी २ समूहमा ठाकुरद्वार एमटिबी च्यालेन्ज गरिने जनाइएको छ ।
उक्त च्यालेन्जका प्रत्येक सूहका विजेता प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरुस्कार प्रदान गरिने भएको छ । २२ गते नै जङ्गल सफारी र भिलेज वाक र कार्यक्रम समापन गरिने अध्यक्ष निरौलाले जानकारी दिए । तयारीका लागि क्लबले मूल आयोजक समिति, विभिन्न उपसमिति, कार्यान्वयन समिति गठन गरेको जनाएको छ ।