कोरोना खोपबारे सचेतना अभियानमा संघ-संस्था
Thursday, December 23rd, 2021, 8:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ पुस
बाँकेमा रहेको कूल खोप लगाउने मिल्ने जनसंख्याको ४० प्रतिशत व्यक्तिहरुले अहिलेसम्म कोभिडविरुद्धको खोप लगाएका छैनन् । सरकारले कोभिडको खोप प्रशस्त मात्रामा उपलब्ध गराउँदा पनि विभिन्न कारणले लाखौं व्यक्तिले खोप लगाउन सकेका छैनन् ।
स्थानीय तहदेखि निजी संघ-संस्थाले खोप लगाउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । नेपालगन्ज नगरपालिकाले त खोप नलगाएका प्रत्येक घरहरुमा स्टीकरण टाँस गर्दै आएको छ । त्यस्तै जिल्ला बाल क्लब संजाल र जिल्ला युवा क्लब संजालले नेपालगन्ज नगरपालिका भित्र प्रत्येक घर-घर र वडातहसम्म पुगेर खोप लगाए नलगाएको निरीक्षण गर्दै आइरहेको छ । संजालका प्रतिनिधिले खोप नलगाएका व्यक्तिहरुलाई खोप लगाउनका लागि अभिप्रेरित गर्दै उनीहरुलाई अभिमुखीकरण गर्दै आएको जिल्ला बाल क्लब संजालका अध्यक्ष रंजिता रावतले बताइन् ।
‘हामीले प्रत्येक घर-घरमा पुगेर उनीहरुले खोप लगाएका छन् की छैनन् । यदि खोप लगाएको छैन भने उनीहरुलाई खोप लगाएपछि कसरी कोरोनाबाट बच्न सकिन्छ भनेर बुझाउने काम भई रहेको छ । हाम्रो उद्देश्य भनेकै सबैले खोप लगाउनु हो,’ अध्यक्ष रावतले भनिन् ।
यसअघि उनीहरु विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपबारे जनचेतनामूलक सडक नाटक पनि नेपालगन्जमा प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उपस्थित सहभागी
यसै सन्दर्भमा बिहीबार नेपालगन्जमा कार्यक्रमको पनि आयोजना गरिएको छ । जिल्ला युवा क्लब संजाल बाँकेले विभिन्न संस्थासँग आवद्ध युवाहरुसँग कोभिड-१९ विरुद्ध युवा अभियान तथा प्रतिबद्धता कार्यक्रम अयोजना गरेको हो ।
कार्यक्रममा सहभागी युवाहरुले ‘मैले त कोभिड-१९ विरुद्ध खोप लगाए के तपाईँले लगाउनु भयो ?’ सूचना प्रवाह गर्दै कोभिडविरुद्धका प्रतिवद्धता ब्यानरमा हस्ताक्षरसमेत गरेका छन् ।
कार्यक्रममा जिल्ला युवा संजालका प्रतिनिधि, सामाजिक विकास मञ्चका प्रतिनिधिले कोभिडविरुद्ध र खोप लगाउनु पर्छ भन्ने विषयमा सचेतनामूलक सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा नेपालगन्ज उप-महानगरपालि वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता बैश्यको पनि उपस्थिति रहेको थियो ।
खोप अभियान कार्यक्रम सामाजिक विकास मञ्च र सेफ द चिल्ड्रेनको सहयोगमा संचालन भई रहेको । ‘जोखिम संचार तथा समुदायिक सहमागिता’ परियोजना अन्तर्गत उक्त कार्यक्रम संचालन भएको परियोजनाका संयोजक शिवानी भट्टराईले जानकारी गराइन् ।