आखाँले देखे जस्तो छैन देश : अध्यक्ष लिंग्देन
Friday, December 24th, 2021, 11:04 am
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिंग्देनले देश आँखाले देखेकोजस्तो नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीले तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
‘देशमा अहिले गोलाबारुद पड्किएको छैन, द्विदेशीय नाकाबन्दी छैन, अभिव्यक्ति स्वतन्त्रता रहेकै छ, तर देश समग्रमा नाङ्गो आँखाले देखेको जस्तो शान्त छैन, मुलुक अहिले कुशासन, भ्रष्टाचारले थिलोथिलो परेको छ, भित्रभित्रै यहाँ सबैथोक बर्बाद भइसकेको छ’, सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लिंग्देनले भने । कांग्रेस र कम्युनिष्टहरुले यो मुलुकलाई ३२ बर्षसम्म कहिले लोकतन्त्र, कहिले प्रजातन्त्र त कहिले गणतन्त्रका नाममा नाङ्गै बनाइसकेको आरोप लगाए । हेर्दा सामान्य देखिए पनि भित्रभित्रै मुलुक बर्बाद भइसकेको उनको अभिव्यक्ति थियो ।
कांग्रेस र कम्युनिष्टहरुकै सिण्डिकेटमा मुलुकमा लाउडा एयरदेखि बालुवाटार जग्गा काण्डहरु समेत भएको उल्लेख गर्दै उनले जनतालाई गाईबस्तुजस्तो बाँधेर अब यी पार्टीहरुले राख्न नसक्ने पनि उनले बताए । ‘कांग्रेस र कम्युनिष्टको दाम्लो चुडाएर आउनुस्, अब हिन्दु राज्य र राजसंस्थासहितको प्रजातन्त्र ल्याउनका लागि’, अध्यक्ष लिंग्देनले भने– ‘अहिले त धेरै राजाहरुको खर्च भर्न मुलुकलाई कठिन भइसकेको छ । एउटा राष्ट्रपति बराबरको खर्च पनि राजा पाल्नका लागि नचाहिने भन्दै अहिलेको तन्त्रलाई लुटतन्त्रको रुपमा उनले अथ्र्याए । देशले जनताको समर्पण खोजिरहेको भन्दै उनले अब हस्पक्षेपकारी भूमिकामा आउन पनि आमसभामार्फत आम नागरिकलाई आह्वान गरे ।
तुलसीपुरको ऐतिहासिक एवं धार्मिक महत्वलाई उल्लेख गर्दै उनले यहाँ सम्पन्न भएको विश्व विद्वत सम्मेलनकै कारण यहाँ संस्कृत विश्वविद्यालय स्थापना हुन पुगेको स्मरण गर्दै वैदिक सनातन हिन्दु धर्मको संरक्षण नितान्त आवश्यक रहेको बताए । लोकतन्त्रमा बहुमतको आस्थालाई मार्न नपाइने बताउँदै कम्तीमा ९० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको मुलुकलाई हिन्दु राज्य घोषणा गर्न किन कसलाई आपत्ति भएको भन्ने पनि प्रश्न गरे । आफूले व्यक्तिगतरुपमा किरात धर्म मान्ने भए पनि बहुसंख्यक हिन्दु भएको तथा सनातन धर्म पनि हिन्दु नै रहेकाले अब हिन्दु राज्य स्थापनाको अभियानमा तुलसीपुरबासीले विशेष सहयोग गर्ने पनि उनको अपेक्षा थियो ।
कार्यक्रममा राप्रपाका नवनिर्वाचित उपाध्यक्ष ध्रुवबहादुर प्रधानले संघीयता र गणतन्त्रका नाममा यहाँको धार्मिक आस्था र संस्कृति भत्किएको बताउँदै अब त्यसलाई जोगाउनका लागि राप्रपाको आन्दोलनमा जोडिन पनि सहभागीहरुलाइ आग्रह गरे । विश्वमा एउटा मात्र हिन्दु राष्ट्र नेपाल रहेको स्पष्ट पार्दै लोकतन्त्रका नाममा यो पनि लुटिएको उनको अभिव्यक्ति थियो । उपाध्यक्ष प्रधानले शान्तिपूर्ण आन्दोलनबाट राप्रपाले आफ्ना एजेण्डाहरुलाई अनुमोदन गराउने पनि जिकिर गरे ।
राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित महामन्त्री डा. धवल शमशेर जवराले यसअघिको नेतृत्वले सही नेतृत्व दिन नसकेकोले नयाँ नेतृत्व आएको उल्लेख गर्दै वर्तमान नेतृत्वले राप्रपाका एजेण्डालाई जनताबाट अनुमोदन गराउने बताए । कहिँकतै पनि नबिक्नेहरु राजनीतिमा आउने प्रबृत्तिको अन्त गर्न आग्रह गर्दै उनले अब शिक्षित वर्ग राजनीतिमा आउनुपर्ने बताए । काम गर्न नसक्ने व्यक्ति अब नेतृत्वमा आउन नसक्ने बताउँदै जनताको सार्वभौम हकअधिकार सुनिश्चित गर्न र मुलुकलाई भ्रष्टाचाररहित बनाउन राप्रपाको विकल्प नभएको पनि उल्लेख गरे ।
अर्का महामन्त्री भुवन पाठकले सिंहदरबारको अधिकार संघीयताका नाममा गाउँ–गाउँ पु¥याउने भनिए पनि त्यो अनुभूति जनतालाई हुन नसकेको बताए । ‘पहिले सिंहदरबारमा मात्रै सिंह हुन्थे, संघीयतापछि सयौं सिंहहरु स्थानीय तहसम्म पनि लुट्न पुगिसकेका छन्’, महामन्त्री पाठकले भने । अहिले मुलुकमा समाजवाद स्खलित भएको, माओवाद समाप्त भैसकेको बताउँदै न्यायालय पनि भागवण्डाका कारण न्यायाशीशले नै न्याय माग्नुपर्ने अवस्था आएको पनि पाठकले बताए ।