सामान्यतया अवकाशपछिको जीवनलाई मानिसहरुले आराम गर्ने समयको रुपमा लिन्छन् । आफूले सेवामा रहँदा सिकेको सीपभन्दा फरक सीप सिकेर भएपनि त्यसपछिको जीवनमा पनि सक्रिय रहनेहरु कमै हुन्छन् ।
तर नेपालगन्ज-१३ रामबागकी लिला शाहको जीवन भने फरक छ । उनले अवकाशपछिको जीवनलाई एक सहज र सरल तर धेरैले नजरअन्दाज गरेको उद्यममा सक्रिय भएर बिताइन् । घरमै थारै लगानीमा पनि सुरु गर्न सकिने उद्यममा लिलाले आफूलाई ७२ वर्षको उमेरसम्म पनि सक्रिय बनाइराखेकी छन् । उनी ठट्टा गर्दै भन्छिन्, ‘अझै पनि काम गर्ने जोशको मामिलामा जवानहरु पनि मलाई सक्दैनन् ।’ लिलाले नेपाल बैंकको जागिरबाट अवकाशपछि २०५३ सालमा स्थापना गरेको ‘बागेश्वरी अचार उद्योग’ उनको अवकाशपछिको जीवनको अर्को परिचय बनेको छ । साथै उनको परिवारको आम्दानीको मुख्य स्रोत पनि बनेको छ अचार बनाउने उद्यम ।
उनको अचार उद्योग हेर्दा सामान्य लाग्छ । घरको एक कोठा उनले अचार उद्योगका लागि छुट्याएकी छन् । त्यही कोठामा अचार राख्ने भाँडा, मेसिन र अन्य उपकरणहरु छन् । त्यही घरेलु उद्यमबाट उनले महिनामा करिब एक सय ५० क्विन्टल अचार तयार गरेर बेच्छिन् । आवश्यकता भयो र माग बढ्यो भने त्योभन्दा बढीको उत्पादन गर्ने क्षमता पनि रहेको उनी बताउँछिन् ।
लिलाको अचार उद्योगको अर्को विशेषता भनेको उनको अचारमा बिलकुल मौलिक र ‘घरकै जस्तो’ स्वाद छ । न चर्को नुन, न अनावश्यक चिल्लो । आफूलाई जस्तो अचार मन पर्छ त्यस्तै अचार बनाएर अरुलाई पस्किरहेको बताउँछिन् लिला । उनी आफ्नो उत्पादनको विशषताबारे भन्छिन्, ‘मेरो अचारमा उपभोक्ताले आफ्नै घरमा बनाएको जस्तो स्वाद पाउनुहुन्छ । अतिआवश्यक प्रिजरर्भेटिभबाहेक कुनैपनि अनावश्यक चिज प्रयोग गरिएको हुँदैन । स्वच्छताको कुरा गर्दा मैले जस्तो स्वच्छ खान चाहन्छु त्यस्तै अरुलाई पनि खुवाउने हो । गुणस्तर र स्वच्छतामा कुनै सम्झौता गरिँदैन ।’
२०४८ सालमा अवकाशपछि उनलाई घरमा खाली बस्न मन लागेन । उनी आफूले गर्नसक्ने कामको खोजी गर्न थालिन् । घरमै गर्न सकिने उद्यमको खोजीमा उनी भारतका विभिन्न सहरमा पनि पुगिन् । अन्तमा उनलाई आफ्नै रुचीको उत्पादनले तान्यो । ‘मलाई पहिल्यैदेखि अचार खुब मन पथ्र्यो । घरमा अचार बनाउन र खान खुब रहर लाग्थ्यो । धैरै बाहिर हिडडुल गर्नुपर्ने र शारीरिक परिश्रम पनि नपर्ने देखेपछि अन्तमा यही उद्यम गर्छु भनेर लागें,’ लिलाले भनिन् ।
अचार उद्योग सन्चालन गर्ने निणर्यपछि उनले यसलाई बजारमा बपठाउनुअघि ध्यान दिनुपर्ने कुरा, संभावित जोखिम लगायतका विषयमा अध्ययन गरिन् । उनले उद्योग सुरु गरेका बखत नेपालगन्जमा न उपयुक्त प्रविधि उपलब्ध थियो न आवश्यक प्याकेजिङका सामानहरु उपलब्ध थिए । उनले अचार राख्ने डिब्बाहरु पनि काठमाडौंबाट मगाउनुपर्यो ।
अचारको बजारीकरणका सवालमा लिलालाई अचारको गुणस्तरले नै सघायो । उनले तयार गरेको अचारका उपभोक्ताहरुले आफूले पाएको स्वाद र गुणस्तरको चर्चा गर्दै गए । उनको अचारको प्रचार हुँदै गयो । मानिसहरु उनले तयार गरेको अचार खोज्दै घरैमा पुग्न थाले । कही पसलहरुमा पनि उनको अचारले ठाउँ लियो । पसलमा सामान राख्दा भने उनलाई बिक्री भइसकेपछि मात्रै भुक्तानी दिइने प्रचलन चित्त बुझेन । त्यसपछि उनले आफ्नै घरबाट अचार बजार पठाउन थालिन् ।
हाल नेपालगन्जमा अर्गानिक र घरेलु स्वादको अचार खोजी गर्दै उनको घरसम्म पुग्नेहरु धेरै छन् । नेपालगन्जबाहिर काठामाडौंसम्म पनि उनको अचार पुग्छ । कतिपयले त विदेशमा कोशेलीका रुपमा पनि उनको अचार पठाउँछन्-लैजान्छन् ।
लिलाको बागेश्वरी अचार उद्योगमा उनको परिवारका सबै सदस्यहरु उत्तिकै सहभागी छन् । सबैभन्दा पहिला उनको उद्योगमा सहयात्री बनिन् उनकी बुहारीले । यसका उनका स्कुले नाती र छोरा पनि फुर्सदको समय उद्योगमै सघाएर बिताउँछन् ।
हुन त बुहारी उद्योग सुरु भएको करिब एक दशकपछि भित्रिएकी थिइन् । बुहारी भएर भित्रिसकेपछि उनले सासुबाट पाएको एउटा काम लाग्ने उपहार अचार बनाउने सीप थियो । सासुले छोरीलाई जस्तै बुहारीलाई अचार बनाउने सीप सिकाइन् । हाल सासु बुहारी दुबै मिलेर उद्योग चलाइरहेका छन् । साँझ बिहानको खाना बनाउने, खाने र घरायसी कामबाहेकको सासु बुहारीको समय अचार बनाउँदै बित्छ । अचारका लागि कच्चा पदार्थको जोहो गर्ने, बजारीकरणका लागि घरबाहिर दौडधुप गर्ने काममा बुहारी नै सघाउँछिन् । बुहारी भन्छिन्, ‘हामी दुवैजनाबीच उत्तिकै माया र एकता छ । आमाले नै मलाई सीप सिकाएर अहिले म आफै पनि अरुलाई तालिम दिनसक्ने भएकी छु ।’
अरुलाई सीप सिकाउने काममा त लिला पनि विभिन्न ठाउँमा पुगेकी छन् । यद्धपि अब उनलाई धेरै ठाउँ पुग्न उमेर साथ दिँदैन । ‘तैपनि आवश्यक परेको ठाउँमा कसैले बोलाएमा सकेसम्म पुग्छु,’ लिला भन्छिन् । अब अचारलाई नेपालगन्जमा रहेका ठूला मार्टहरुमा पनि पुर्याउने योजना बनाएकी छन् ।
लिला महिलाहरुले घरमै पनि गर्न सकिने उद्यमहरु धेरै रहेकोले त्यसको खोजी गर्न र बिस्तारै सिक्दै अघि बढ्न सुझाव दिन्छिन् । व्यवसायिक सीप र उपायका बारेमा नागरिकहरुलाई जागरुक बनाउन स्थानीय सरकारहरुले पनि योजना बनाएर कार्यान्वयन गर्नु आवयक रहेको उनको बुझाइ छ ।