लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
Friday, December 24th, 2021, 4:21 pm
Kalpristha
दाङको घोराहीमा शुक्रबारदेखि लुम्बिनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा तेक्वान्दो डोजाङको सहकार्यमा आयोजित प्रतियोगितामा दाङ, प्युठान, बाँके, बर्दिया, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा र रुपन्देशी जिल्लाका करिव २ सय ५० खेलाडी सहभागी छन् । प्रतियोगितामा २० केजीदेखि ६० केजी तौल समूहमा महिला र २० देखि ७० तौल समुहमा पुरुष खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने आयोजक दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु घोराही उपमहानगरपालिका-१४ कवर्ड हलमा भैरहेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको बताएकी छन् । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घर्तीले स्वास्थ्यसँगै देशको पहिचानसँग जोडिएको खेलक्षेत्रको विकासका लागि प्रयाप्त पूर्वाधार नुहँदा क्षमतावान तथा प्रतिभाशाली खेलाडी पहिचान गर्न समस्या भएको बताइन् । उनले खेलकुल क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्न आवश्यक रहेको बताइन् ।
उनले पछिल्ला समयमा संघीय, प्रदेश तथा स्थानीय सरकारले हरेक खेलका लागि पूर्वाधार विकासमा प्राथमिकता दिएको भन्दै आफुले प्रदेशका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले देशको इज्जत बढाउनेदेखि खेलाडीहरुलाई अनुसासनका माध्यमबाट अघि बढाउन सहयोग पुर्याउने खेलकुद क्षेत्रलाई अघि बढाउन राज्यले खेलाडीसँगै पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले हरेक व्यक्तिका लागि आईटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि समेत आवश्यक रहेकाले खेल्न आवश्यक भएको बताएका थिए ।