घोराही कारागारका कैदी अस्पताल नभइ रेष्टुराबाट भागेको पाइयो
Saturday, December 25th, 2021, 6:22 pm
Kalpristha
अस्पतालबाट भागेका भनिएका घोराही कारागारका नाइके जयराम परियार रेष्टुराँबाट नास्ता खाने क्रममा भागेको खुलेको छ । घोराहीस्थित प्याडाइज रेष्टुरामा नास्ता खाने क्रममा परियार भागेको सिसिटिभी फुटेजबाट पत्ता लागेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फुटेज हेर्दा सरासर अस्पताल नलगेर रेष्टुराँमा नास्ता खान लगिनुले खटिएका प्रहरीको चरम लापरबाही देखिएको बताए । कर्तव्य ज्यानमुद्दामा साढे सात वर्ष कैद भुक्तान गरिसकेका घोराही कारागारका नाइकेलाई उपचारका लागि भनेर अस्पताल लैजाँदा हतकडी पनि लगाइएको थिएन ।
कुनै पनि बिरामी नरहेका परियारलाई किन अस्पताल उपचारका लागि लगिएको हो भन्ने कुरा नै रहस्यमय रहेको एसपी काफ्लेले बताए । जिल्ला कारागार घोराहीका जेलेर युवराज परियारले भने रिपोर्टिङका आधारमा छाला सम्बन्धी उपचार गराउनका लागि नाइके परियारलाई उपचारका लागि पठाउनु परेको बताउँदै आएका छन् ।
परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनीहरू रेष्टुँरामा नास्ता खान पसेको र त्यही मौका छोपी परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको पाइएको छ । यसअघि प्रहरीले अस्पतालबाट परियार भागेको बताएको थियो ।