शून्यमा झर्दै संक्रमण दर
Sunday, December 26th, 2021, 3:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ पुस
बाँके जिल्लामा कोभिड–१९ को संक्रमण दर न्यून हुँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार संक्रमण दर घट्टे क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालयको गत एक शाताको तथ्यांक अनुसार जिल्लामा संक्रमण धेरैजसो शून्य रहेको छ । साथै स्वास्थ्य कार्यालय अनुसार संक्रमण पुष्टि हुनेको संख्याभन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
आइतबार जिल्लामा एकजना महिलालार्ई संक्रमण पुष्टि भएको थियो भने तीनजना निको भएका छन् ।
त्यस्तैगरी गत पुस ९ गते दुईजना पुरुषमा, ८ गते शून्य संक्रमण, ७ गते शून्य संक्रमण र ६ गते पनि शून्य संक्रमण पुष्टि भएको थियो । साथै ५ गते एकजना महिलामा, ४ गते दुईजना पुरुष र ३ गते एकजना महिलामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमण मुक्त दर हेर्दा पुस ९ गने तीनजना, ८ गते एकजना, ७ गते चारजना, ६ गते तीनजना, ५ गते दुईजना, ४ गते शून्य र ३ गते एकजना संक्रमण मुक्त भएका छन् ।
हालसम्मको तथ्यांक हेर्दा जिल्लामा कूल १८ हजार चार सय ९३ जनामा संक्रमण पुष्टि भई सकेको छ । त्यस्ते १८ हजार एक सय ४१ जना संक्रमण मुक्त भई सकेको छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाही कोभिड खोपका कारण संक्रमण दरमा कमी आएको बताउँछन् । उनले भने, ‘जिल्लामा खोप लगाउन मिल्ने धेरै जसो व्यक्तिले खोप लगाइ सक्नु भएको छ । खोपका कारणले पनि कोभिड संक्रमणमा कम भएको हाम्रो अनुमान हो ।’
जिल्लामा २०७८ मंसिर २९ गतेसम्म जिल्लामा दुई लाख ६४ हजार चार सय ३१ जनाले खोप लगाइ सकेका छन् ।