नेपालगन्जमा वायुयान संग्रहालयको काम धमाधम चल्दै
Sunday, December 26th, 2021, 6:28 pm
Kalpristha
नेपालगन्जमा वायुयान संग्रहालय (एभियसन म्युजियम) निर्माणको काम धमाधम चलिरहेको छ । कैलालीको धनगढीमा रहेको वायुयान संग्रहालयलाई नेपालगन्ज ल्याएर उप-महानगरपालिकाको वडा नम्बर १२ बेलासपुरमा स्थापना गर्ने काम भइरहेको छ । क्याप्टेन बेद उप्रेतीले पर्यटकीय आकर्षणको रुपमा स्थापित गर्ने उदेश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेको उक्त संग्राहलय त्यहाँ पुग्ने अधिकांशको अर्को गन्तव्य बनेको थियो ।

नेपालगन्ज एभियसन म्युजियम
नेपालगन्ज-१२ का अध्यक्ष बुद्धिसागर सुवेदीका अनुसार म्युजियम सन्चालक संस्था वेद उप्रेति ट्रष्टसँग १० वर्षका लागि सम्झौता गरेर नगरपालिकाको करिब ७ कठ्ठा जग्गामा संग्राहलय र चिल्ड्रेन पार्क स्थापना गर्न लागिएको हो । संग्रहालयबाट वडाले मासिक १० हजार रुपैयाँ भाडा लिने छ । संग्रहालयसँगैको जमिनमा वडाले चिल्ड्रेन पार्क पनि निर्माण गरिरहेको छ । त्यसका लागि ८ लाख रुपैयाँ बजेट वडाले खर्चिँदै छ । ‘माघमै संग्रहालय र चिल्ड्रेन पार्क उद्घाटन गर्नेगरी काम धमाधम भइरहेको छ,’ वडाध्यक्ष सुवेदीले भने, ‘यो पार्क निर्माणपछि हाम्रो वडा पनि पर्यटकीय गन्तव्यका रुपमा विकास हुनेछ । बालबालिका र विद्यार्थीहरुले पनि मनोरन्जनका साथै सिक्ने अवसर पाउनेछन् ।’
सुवेदीका अनुसार धनगढीमा म्युजियम राखिएको जग्गाको सम्झौता अवधि सकिएपछि उक्त म्युजियम नेपालगन्ज ल्याइएको हो । ९ वर्षअघि ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर-१०० विमानलाई क्याप्टेन उप्रेतिले म्युजियममा परिणत गरेका थिए । वायुयान संग्रहालयमा विमान अविष्कारक राइट दाजुभाइले तत्कालीन समयमा निर्माण गरेका विमान तथा आधुनिक समयमा निर्मित पाइलटरहित अत्याधुनिक ड्रोनका आकृतिहरु एवं अन्य आकर्षक वस्तुहरू राखिनेछन् ।