राप्ती सोनारीले दियो छात्राहरुलाई साइकल
Sunday, December 26th, 2021, 6:54 pm
Kalpristha
राप्ती सोनारी गाउँपालिकाले समुदायिक विद्यालयमा कक्षा ११ र १२ एवं सो भन्दा माथिल्लो तहमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण सुरु गरेको छ । गाउँपालिकामा करिब एक हजार एक सय १७ जनालाई साइकल वितरण गर्ने लक्ष्यसहित आइतबार एक सय ९० जनालाई वितरण गरिएको जनाएको छ ।
अरु छात्राहरुलाई भौगोलिक विकटताका कारण उनीहरुकै पायक पर्ने समय र स्थानमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । आइतबार नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अघैया, सरस्वती माध्यामिक विद्यालय भवानियापुका छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
उनीहरुलाई गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाही, वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारुलगायतले साइकल हस्तान्तरण गरेका थिए । सबै छात्राहरुलाई पुसभित्रै साइकल वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष थारुले शैक्षिक गुणस्तर सुधार होस् र छात्राहरुले कक्षा नछोडुन् भन्ने अभिप्रायले साइकल वितरण गरिएको जानकारी दिए । साइकल वितरणका लागि गाउँपालिकाले करिब ८० लाख रुपैयाँ खर्च हुने जनाएको छ ।