होलान् त नेपालगन्जका ठेला व्यवस्थापन ?
Monday, December 27th, 2021, 6:00 am
Kalpristha
–वीरेन्द्र जैसी
नेपालगन्जमा ठेलामै व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरुको संख्या ठूलो छ । अधिकांशको मुख्य आम्दानी नै ठेलामा चाट चटपटेदेखि कपडासम्मको व्यापार हो । तर, यसरी ठेलामा व्यपार गर्नेहरुले राज्यबाट सधैं अपमानित भइरहनुपर्ने गरेको छ । कहिले ट्राफिक प्रहरी त कहिले नगर प्रहरीले उनीहरुलाई लखेटिरहेका हुन्छन् ।
विपी चोक, त्रिभुवन चोक, धम्बोझी लगायतका स्थानमा सडकमै सन्चालन हुने ठेलाले आवजावतमा पनि कठनाई उत्पन्न गरिरहेको हुन्छ । यसैकारण उनीहरुलाई प्रहरीले नियम पालना गराउने नाममा लखेट्ने गर्छ । नगर प्रहरीले त सामान जफत गरेर जरिवानासमेत गर्ने गर्छ ।
ठेलाको सन्दर्भमा नेपालगन्जमा यो समस्या स्थानीय तह हुनुभन्दा पहिलेको जस्तै हो । त्यतिबेलाको अवस्था र अहिलेको अवस्थामा कुनै फरक छैन । उप-महानगरपालिकाका जनप्रतिनिधिहरुले चुनाव लड्दा ठेला व्यवस्थापन पनि आफूहरुको मुख्य मुद्धा रहेको बताएका थिए । ठेला व्यवसायीहरुलाई सम्मानपूर्वक निश्चित ठाउँमा व्यापार गर्न मिल्ने गरी व्यवस्था गर्ने उनीहरुको प्रतिबद्धता थियो । तर उक्त प्रतिबद्धता अहिलेसम्म पूरा भएको छैन ।
उप-महानगरपालिकाले ठेला पसल व्यवस्थापनका लागि पहिलो ठोस कामकारुपमा नेपालगन्ज मेलिकल कलेजदेखि भेरी प्राविधिक शिक्षालय (बिटिएस) सम्मको बाटो छेउमा फुटपाथमाथि पसलहरु निर्माण गर्ने काम गरिरहेको छ । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको अनुदानबाट गत आर्थिक वर्ष २०७७-७८ को अन्तिममा पसलका लागि कलिला रुखहरु काटेर फलामका पिलरमाथि जस्तापाता राखेर संरचना निर्माण गरिएको थियो ।
करिब ३८ वटा पसल बनाउन मिल्ने उक्त संरचना, चारकोठे शौचालय र भित्तासहितका चारवटा पसल निर्माणका साथै जमिनमा फर्स निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च गरिएको उप-महानगरपालिकाले जनाएको छ । ३५ लाख खर्च गर्दापनि सबै पसलको पूरा संरचना निर्माण नभएपछि यस आर्थिक वर्षमा उप-महानगरले आन्तरिक स्रोतबाट ५० लाख रुपैयाँ बजेट ‘फुटपाथमा बजार निर्माण’ शिर्षकमा छुट्याएको छ । उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी उक्त बजेट बिटिएस रोडको फुटपाथमा लागि मात्रै नभइ अन्य उपयुक्त फुटपाथमा पनि पसल निर्माणका लागि छुट्याइएको बताउँछन् । राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले करिब २० लाख रुपैयाँ उक्त योजनामा खर्च गरिने बताए ।
अन्य कुन ठाउँमा ठेला व्यवस्थापनका लागि उपयुक्त फुटपाथ छ? उपमहानगरपालिकाले खोजिसकेको छैन । मेयर राणाले गणेशमाचोकदेखि कोरियनपुर जाने बाटोको फुटपाथलाई पनि व्यवस्थित बजार बनाउन सकिने बताउँदै आएका छन् । तर, त्यसका लागि छेउमा रहेको जमिनको स्वामित्व भएको नेपाल प्रहरीको अनुमति पाइएको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवी ओली उपमहानगरमा ठेला व्यवस्थापन अझै हुन नसकेको बताउँछन् । त्यसका लागि उपमहानगरले एकीकृत र दिर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
उपमहानगरको योजनास्थलमा व्यक्तिगत सटर निर्माण | KalpristhaNews.com