शब बुझ्न ६ बुुँदे सहमति
Monday, December 27th, 2021, 11:16 am
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १२ पुस
कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको परिवारले ६ बुँदे सहमतिपछि शव बुुझ्न सहमत भएका छन् । जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले पीडित पक्षले उठाएका ८ बुुँदेमध्ये आइतबार भएको छलफलपछि ६ वटा माग सम्बोधन गर्ने विषयमा लिखित सहमति भएपछि मृतकको परिवार शव बुुझ्न सहमत भएको जानएका छन् ।
गाउँपालिका कार्यालयले पीडित परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने मृतककी छोरीलाई उच्च शिक्षा पढाउने जिम्मा लिने, परिवारको एक जना सदस्यलाई रोजगारी लगाउन प्रदेश सरकारसँग अनुरोध गर्ने, सम्बन्धित निकायसँग समन्वय गरेर दासको सालिक बनाउन पहल गर्ने सहमति भएको भण्डारीले बताए ।
पीडित पक्षले उठाएका शहीद घोषणा र दासको नामबाट अमरावती सामुदायिक वनको नामाकरण गर्ने माग गाउँपालिकाको क्षेत्राधिकारभित्र नपर्ने भएकाले यी दुुई बुुँदामा छलफल नभएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी, गाउँपालिकाका अध्यक्ष प्रदीपकुुमार चौधरीसहितका जनप्रतिनिधि, दासको न्यायका लागि गठित संघर्ष समितिका संयोजक तथा सदस्यहरूको उपस्थिथिमा छलफल भएको थियो ।
गत पुस २ गते साँझ घरबाट निस्किएका अर्जुनको शव टाउको छेदन गरी रुखमा बाँधेको अवस्थामा भोलिपल्ट स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको थियो ।
हत्याको जिम्मेवारी लिएको फोन संवादको अडियो बाहिरिएपछि मात्र घटनाबारे थाहा भएको थियो । प्रहरीले हत्या संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ तर अन्य तीन जना फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।