नेपालगन्जलाई ज्येष्ठ नागरिकमैत्री बनाइने
Monday, December 27th, 2021, 11:31 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ पुस
नेपालगन्ज उप–महानगरपालिकालाई ज्येष्ठ नागरिकमैत्री बनाइने भएको छ । त्यसका लागि ज्येष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भइरहेको छ ।
मस्यौदामाथि सुझाव संकलनको कामसमेत सुरु भएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर उप–महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा सुझाव संकलन कार्यक्रमबाट वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमालको संयोजकत्वमा ज्येष्ठ नागरिकका प्रतिनिधी सम्मिलित मस्यौदा तयारी कार्यदल गठन गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले ज्येष्ठ नागरिकको सवालमा उप–महानगरपालिका सधै गम्भिर रहेको बताउँदै ज्येष्ठ नागरिकले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताए ।
उपप्रमुख उमा थापा मगरले नेपालगन्जलाई ज्येष्ठ नागरिक नगर बनाउन काम थालिएको बताइन् । उनले उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको सेवा सुविधालगायतका विषयमा नीतिगत निर्णय गर्न थालेको जानकारी दिइन् ।
नेपालगन्ज उप–महानगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधाका लागि नीतिगत निर्णय गर्ने, भेरी सम्वद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, भेरी अस्पतालमा ज्येष्ठ नागरिक वार्ड स्थापना गर्ने, ज्येष्ठ नागरिकहरुको विशेषज्ञ समूह गठन गरी स्थानीय तहले उपयोग गर्न सक्नेलगायतका विषयमा छलफलमा उठेको बताइन् ।
नेपालगन्ज उप–महानगरपालिकामा वडास्तरमा ज्येष्ठ नागरिक क्लव गठन भई क्रियाशिल रहेका छन् ।