बिजुली पुगेपछि गंगटेवासीका मुहारमा खुसी
Monday, December 27th, 2021, 5:55 am
Kalpristha
–लिलाधर वली, दाङ
वर्षौँको पर्खाईपछि गाउँमा विद्युत पुगेपछि दाङको कर्णाली भनेर चिनिने बबई गाउँपालिका-१ गंगटेका स्थानीय खुसी भएका छन् । विद्युत नहुँदा अँध्यारोमा रात काटनुपर्ने बाध्यता हट्नुका साथै टिभी हेर्न, मोबाइल चार्चलायतका सुविधा घरमै पाइने भन्दै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । स्थानीय जितबहादुर घर्तिमगरले विद्युत नहुँदा सोलारबाट काम चलाउँदै आएकोमा त्यसबाट पर्याप्त सुविधा लिन नपाउने अवस्थामा बिजुली पुगेपछि गाउँलेहरु खुसी भएको उनले बताए ।
‘गाउँमा विद्युत नहुँदा घरमा सोलार राखेर बत्ती बाल्ने, मोबाइल चार्ज गर्ने काम गर्दै आएका थियौँ । तर घाम नलाग्दा बत्ती बाल्नै समस्या हुने गरेको थियो,’ उनले भने,‘अब त बिजुलीको तार पनि घर आगनमै आईपुग्यो । बत्तीले बालबालिकालाई पढ्नदेखि रातको समयमा बत्ती बालेर काम गर्नपनि सहज हुनेछ ।’
वर्षाँैपछि गाउँमा विद्युत पुगेपछि ७० वर्षीय मानबहादुर गुरुङ पनि खुसी छन् । वर्षौसम्म आउँछ आउँछ भनेर नगएको विद्युत अहिले पुग्दा खुसी लागेको उनले बताए । ‘हामी विकट गंगटेका मान्छेलाई जहिल्यै ढाट्ने काम मात्र भएको थियो । नेताहरुले विद्युत आउँछ, बाटो बन्छ मात्र भन्थे तर न विद्युत आउथ्यो नत बाटो बन्थो,’ उनले भने, ‘अहिले बिजुलीको तार घर नजिकै आएको छ । यो देख्न पाउँदा खुसी लागेको छ ।’
विद्युत विस्तारसँगै अब स्थानीयलाई सोलार र मट्टी तेलबाट बत्ती बाल्नुपर्ने समस्या हट्नुका साथै घरेलु उद्यमहरुको विकासमा पनि टेवा पुग्ने बबई गाउँपालिका-१ का वडा अध्यक्ष खड्गबहादुर कुँवरले बताए । वडा अध्यक्ष कुँवरले भने, ‘जहिले नि वडावासीले विद्युत कहिले आउँछ भनेर सोध्नुहुन्थ्यो ? त्यो प्रश्नको अब अन्त्य भएको छ ।’
उनका अनुसार अहिले भएको विद्युत बिस्तारले वडाका ४२ टोलहरुमध्ये १२ वटा टोलका करिब ६ सय घरपरिवारले विद्युत सुविधा लिन सक्नेछन् । वडाध्यक्ष कुँवरले बस्तीमा आईपुगेको विद्युत घरघरमा बाल्नका लागि वडावासीहरबाट निवेदन संकलनको काम भैरहेको छ । वडाका ४२ टोलमा १२ सय घरधुरी रहेका छन् ।
गंगटेमा करिब चार वर्षको अथक प्रयासपछि विद्युत बिस्तार भएको हो । विद्युत प्राधिकरणको दुई करोड ५० लाख र बबई गाउँपालिकाको ६७ लाख गरि तीन करोड १७ लाख रुपैयाँको लागतमा गंगटेसम्म विद्युत बिस्तार भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।
विद्युत बिस्तार गर्नका लागि बबई गाउँपालिका-५ बबरपुरदेखि गंगटेसम्म करिब २४ किलोमिटर क्षेत्रमा विद्युत पोल गाड्नेदेखि तार तान्न करिब चार बर्ष लागेको हो । गत मंसिर महिनामै विद्युत बिस्तार गर्ने गरी आर्थिक वर्ष २०७५/०७६ देखि विद्युत बिस्तारको काम सुरु भएपनि बबई गाउँपालिका-५ बबरपुरदेखि गंगटेसम्म वन क्षेत्रको अवरोधसँगै कोरोना महामारीका कारण काम गर्न ढिलाई हुँदा विद्युत बिस्तारमा समस्या भएको थियो ।
‘बबई गाउँपालिकाको मात्र होइन जिल्लाकै विकट क्षेत्रका रुपमा रहेको गंगटेमा मंसिर महिनामै विद्युत पुर्याउने गरि काम सुरु गरेका थियौँ,’ गाउँपालिका अध्यक्ष पौडेलले भने,‘कोरोना महामारीसँगै बबरपुरदेखि गंगटेसम्मको बीचमा जंगल क्षेत्र पर्ने भएकाले काम गर्न समस्या भयो । जसका कारण विद्युत पुर्याउन केही समय ढिला हुन पुग्यो ।’ गाउँपालिका अध्यक्ष पौडेलले गंगटेमा विद्युत पुगेसँगै गाउँपालिकाका सबै वडाहरुमा विद्युत बिस्तार भएको भन्दै खुसी व्यक्त गरे ।
गंगटेको विकासका लागि सहकार्य आवश्यक
यसैबीच विद्युतको सुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले गंगटेको विकासका लागि सबै राजनीतिक दलहरुका बिचमा सहकार्य आवश्यक रहेको बताए । भौगोलिक रुपमा दाङमै विकट क्षेत्रका रुपमा रहेको गंगटे गाउँको विकासका लागि प्रमुख राजनीतिक दलहरुका सहकार्य हुनुपर्ने बताएका हुन् । विद्युतसँगै गंगटेमा सडक, खानेपानी, स्वास्थ्य सेवासँगै उच्च शिक्षाको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि दलहरु विभाजितभन्दा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । सहकार्य र सहमतिले विद्युतसँगै अन्य सेवाहरु समेत पाउने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गंगटेको विकासका आफुले पहल गर्ने बताए । उनले दुर्गम बस्तीका रुपमा रहेको गंगटे गाउँले विकास पहिल्याउन थालेको भन्दै यसलाई अघि बढाउनका लागि आफुले जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिसँग पहल गर्ने बताए ।