कैदी फरार प्रकरण : जेलरसहित असई र हवल्दारविरूद्ध पक्राउ पुर्जी
Monday, December 27th, 2021, 6:36 pm
Kalpristha
घोराही कारागारका कैदी फरार प्रकरणमा घोराही कारागारका जेलर युवराज परियारसहित अन्य दुई जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरिएको छ । घोराही कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापरबाहीले कारागारका नाइकेसमेत रहेका कैदी यमराज परियार भागेको देखिएको भन्दै जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारुको नाममा दाङ जिल्ला अदालतले सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।
कर्तब्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका-३ बेला निवासी यमराज परियारलाई अस्पताल लग्ने क्रममा मिलोमतोमा भगाएको प्रहरीले निष्कर्ष निकालेको छ । मिलोमतोमा कैदी भगाउनका लागि जेलर परियार, असई ठकुरी र प्रहरी हवल्दार चौधरीको समेत उक्त घटनामा संलग्नता देखिएपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जेलर परियार आफू बिदामा बसेका बेला कारागारमा उपस्थित भएर नाइके परियारलाई उपचारका लागि अस्पताल लैजान अनुमति दिएका थिए ।
बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै मोटरसाइकलमा कारागारका नाइके यमराज परियारलाई उपचार गर्न भनेर बाहिर ल्याएका थिए । तर उनीहरु अस्पताल नगएर घोराही उपमहानगरपालिका-१५ स्थीत थकाली भान्सा घर एण्ड रेष्टुरेण्टमा पुगेका थिए । उक्त रेष्टुरेष्टमा दुई युवतीसँग नाइके परियार र प्रहरी जवान चौधरी यौन सम्बन्धमा लागेको अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको छ ।
त्यही क्रममा नाइके परियारले प्रहरी जवान चौधरी र युवतीलाई होटेलको कोठामा थुनेर प्रहरीकै मोटेरसाइकलमा भाग्न सफल भएका थिए । कारागारका नाइके परियार फरार घट्नामा प्रहरीले यौन क्रियाकलापमा संलग्न दुई युवतीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर र थप तीन जनालाई पक्राउ पुर्जी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी प्रमुख काफ्लेलेका अनुसार परियारले भाग्न प्रयोग गरेको प्रहरी जवान चौधरीको मोटरसाइकल घोराही-लमही सडक खण्डको जंगलमा फेला परेको छ । आइतबार काराारका जेलर परियारलाई जिल्ला प्रशासनमा तानेर उनको स्थानमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई पठाइएको थियो ।