एमाले बाँकेको अध्यक्षमा आधा दर्जन नेताहरु आकांक्षी
Tuesday, December 28th, 2021, 8:09 pm
Kalpristha
नेकपा एमालेले पुस २३ गते बाँकेसहित ७७ वटै जिल्लमा अधिवेशन गर्दैछ । अधिवेशन नजिकिएसँगै अन्य तयारीका साथै जिल्लाको नेतृत्वका लागि नेताहरुको रस्साकस्सी पनि सुरु भएको छ । एमालेको जिल्ला अध्यक्षका लागि ६ जना नेताहरुले आकांक्षा खुलाएका छन् भने अरु नेताहरु पनि आकांक्षी रहेको बुझिएको छ । तर, जिल्ला अधिवेशनका लागि वडाबाट प्रतिनिधहरु नै छनौट नभइसकेकोले एमालेमा सबैले आफ्नो दाबेदारीलाई खुलेर राख्न सकेका छैनन् । प्रतिनिधिहरुको छनौट भइसकेपछि उनीहरुको मानसिकता आँकलन गरेर मात्रै दाबी सार्वजनिक गर्ने वा पछि हट्ने रणनीतिमा नेताहरु रहेको एमाले सम्बद्धहरु बताउँछन् ।
अहिलेसम्म अध्यक्षमा आंकाक्षा व्यक्त गर्दै त्यसका लागि आवश्यक गतिविधिमा सक्रिय भएका नेताहरुमा वर्तमान जिल्ला अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किस्मत कुमार कक्षपति, सचिव रत्न खत्री, नेताहरु डिल्ली बिसी, सतिश निरौला र घननाथ खनाल छन् ।
तीमध्ये गुरुङ, कक्षपति र खत्रीको दाबेदारीलाई तुलनात्मकरुपमा बलियो मानिएको कार्यकर्ताहरु बताउँछन् । पार्टीभित्र सहमतिमै नेतृत्व चयनको लागि केन्द्रीय नेताहरुले दवाब दिएभने उनीहरु नै प्राथमिकतामा पर्ने कार्यकर्ताहरुको आँकलन छ । तर, १० औं महाधिवेशनमा पनि सहमतिको अन्तिम प्रयासबाट पनि मूल नेतृत्व चयन नहुने अवस्था आएपछि निर्वाचनमा गएकोले जिल्लामा पनि नेताहरुको दाबेदारी नटुंगिएमा चुनावमा जान पनि रोक्न नहुने कार्यकर्ताहरुको मत छ ।
युवा नेता सतिश निरौला पनि आफ्नो दाबी पुस्तान्तरण र युवाहरुलाई अवसर दिनका लागि भएकोले यसपटक चुनावमै गएर पनि आफ्नो परीक्षण गर्ने बताउँछन् । उनी भन्छन्, ‘म आफूलाई बाल कम्युनिष्टदेखि राजनीति सुरु गरेको भन्न रुचाउँछु । कम्युनिष्ट राजनीतिमा लागेकै करिब ३० वर्ष भयो । औपचारिक राजनीति सुरु गरेकै २५ वर्ष भयो । विद्यार्थी राजनीतिमा आफूलाई अब्बल प्रमाणित गरेको छु । अनि मैले अहिले दाबी नगरे कहिले गर्ने ? अर्कोपटक दाबी गर्न पाउने बेलासम्म त मेरो उमेर नै ५० कटिसकेको हुनेछ । त्यसकारण यसपटक म आफ्नो दाबी अन्तिमसम्म नछोड्ने पक्षमा छु । आफूलाई परीक्षण गरेरै हेर्छु ।’
तर, एमालेले यसपटक वडादेखि पालिकासम्म सहमतिमा नेतृत्व चयन गरेको छ । त्यसआधारमा जिल्लामा पनि सहमतिमा नेतृत्व चयनको लागि केन्द्रबाट प्रयास हुने र हस्तक्षेप हुने देखिन्छ । अध्यक्षका आकांक्षी नेताहरुको दाबीलाई मान्ने हो भने उनीहरु पनि आफ्नो दाबी नछाड्ने पक्षमा देखिन्छन् ।
अर्का आकांक्षी एवं सचिव खत्री भन्छन्, ‘वर्तमान अवस्थामा पार्टीको जुन अवस्था छ त्यसलाई अझ सुधार गर्न र चौतर्फी आक्रमणलाई परास्त गर्न कस्तो खालको नेतृत्व चाहिन्छ भन्ने आम एमाले कार्यकर्तालाई थाहा छ । उहाँहरुले मलाई दिनुभएको डाढस र मेरो आफ्नै पार्टीभित्रको योगदान एवं क्षमताका हिसाबले म आफूलाई कुनैपनि हालतमा अध्यक्षका लागि अयोग्य देख्दिन ।’ अहिले आंकाक्षीहरुको दाबी धेरै देखिनु स्वभाविक भएपनि वडाबाट प्रतिनिधिहरु छनौट भइसकेपछि अधिकांशले आफ्नो अवस्था आँकलन गरेर पछि हट्ने उनको अपेक्षा छ ।
एमालेले पुस १७ गते जिल्लाका डुडुवा, नरैनापुर र राप्तीसोनारीबाहेक अरु पालिकाका वडाबाट प्रतिनिधि छनौट गर्दैछ । डुडुवा, नरैनापुर र राप्तीसोनारीमा भने बृहत पार्टी प्रवेश कार्यक्रम पछि उक्त काम गरिने भएको छ । त्यसका लागि पुस १८ गते केन्द्रीय महासचिव शंकर पोखरेल र सचिव रघुवीर महासेठको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिने र सोही दिन प्रतिनिधिहरु छनौट गरिने खत्रीले जानकारी दिए । प्रतिनिधि छनौटपछि मात्रै आंकाक्षीहरुले आफ्नो दाबी आफै परीक्षण गर्नसक्ने उनले बताए ।
सन्देश प्रवाह अभियान
जिल्ला अधिवेशनअघि एमाले बाँकेका नेताहरु १० औं महाधिवेशनले गरेका निणर्य बोकेर कार्यकर्ताको घरदैलोमा पुग्ने भएका छन् । पुस ९ गतेको एमाले बाँकेको १९औं पूणर् बैठकले गरेको निणर्यअनुसार बुधबारबाट अगुवा कार्यकर्ताहरु जनताको घरदैलोमा जान लागेका हुन् ।
एमाले बाँकेका सचिव रत्न खत्रीका अनुसार बुधबार, बिहीबार र शुक्रबार तीन दिन अगुवा कार्यकर्ताहरु पार्टीका कार्यकर्ता र जनताको घरदैलोमा पुग्नेछन् । त्यसका लागि करिब पाँच सय ४५ जना अगुवा कार्यकर्ताहरुलाई जिम्मेवारी दिएर उनीहरुको कार्यक्षेत्र विभाजन गरिएको छ । ‘हरेक अगुवाले आफ्नो वडा छोडेर अर्को वडामा गई दुई रात तीन दिन बिताउनुपर्नेछ,’ सचिव खत्रीले भने, ‘उनीहरुले त्यहाँ पार्टीको नीति, वर्तमान राजनीतिक परिस्थिति र आगामी निर्वाचनमा पार्टीलाई जिताउन भूमिका खेल्ने विषयमा कार्यकर्तालाई प्रशिक्षित गनुका साथै एमालेप्रति आम कार्यकर्ता र जनताको प्रतिक्रिया संकलन गरेर रिपोर्ट दिनुपर्नेछ ।’
सन्देश प्रवाह अभियानसँगै जिल्ला अधिवेशन सफल बनाउन एमालेले विभिन्न आठ वटा उपसमिति गठन गरेको सचिव खत्रीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि अध्यक्ष निरक गुरुङको अध्यक्षतामा राजनीतिक प्रतिवेदन लेखन उपसमिति, भीम ओलीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन, अशोक कर्माचार्यको नेतृत्वमा आर्थिक, मीन बहादुर मल्लको मञ्च व्यवस्थापन, खेम शर्माको नेतृत्वमा स्वयंसेवक, डिल्ली बिसीको नेतृत्वमा प्रचार, भाष्कर काफ्लेको नेतृत्वमा खाद्य व्यवस्थापन र विम्मीरानी पन्थीको नेतृत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । ती समितिले आफ्नो काम तीव्ररुपले अघि बढाएको उनले बताए । अधिवेशन जिल्ला पार्टी कार्यालयमा नै हुने भएकोले अहिले पार्टी कार्यालय परिसरमा माटो पटान गर्ने काम चलिरहेको छ ।