कांग्रेस बाँकेको सभापतिमा ७ जना आकांक्षी
Tuesday, December 28th, 2021, 8:12 pm
Kalpristha
नेपाली कांग्रेस बाँकेको जिल्ला नेतृत्व चयनका लागि जिल्ला अधिवेशनको मिति पुस २७ गतेका लागि तोकिएपछि जिल्लामा कांग्रेसको राजनीति पुनः तातेको छ । यसअघि मंसिर १४ गतेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशन तोकिएको मितिमा नसकिने अवस्था आएपछि केन्द्रीय अधिवेशनपछि गर्नेगरी हठात् स्थगित गरिएको थियो ।
केन्द्रीय अधिवेशनपछि अधिवेशन हुन बाँकी रहेका बाँकेसहित १६ जिल्लाको अधिवेशन तोकिएसँग जिल्ला पदाधिकारीमा दाबेदारी र जोडघटाउमा नेता कार्यकर्ताहरु पुनः सक्रिय भएका छन् । अन्य पदभन्दा बढी चर्चा स्वभाविकरुपमा सभापति पदमा छ ।
जिल्लाको सभापति पदमा ७ जनाले उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् । उनीहरुले आ-आफ्नै तवरले उम्मेदवारी घोषणा गरेका छन् । सबैभन्दा पहिले निर्वाचन क्षेत्रीय अधिवेशन चलिरहेकै बेला पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए बादशाह कुर्मीले । उम्मेदवारी घोषणा गर्दा संविधानसभा सदस्यसमेत रहेका कुर्मीले भनेका थिए, ‘म शेरबहादुर देउवा प्यानलको एकमात्र उम्मेदवार हुँ । मबाहेक हाम्रो समूहबाट अरु उम्मेदवार हुँदैनन् ।’
तर, अहिले ६ जना आकांक्षीहरु देउवा समूहबाटै देखिएका छन् । उक्त समूहबाट कुर्मीसहित लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, नेताहरु निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणासहित आफ्नो लबिङमा सक्रिय भइसकेका छन् ।
उनीहरु सबै आफू सभापति पदका लागि उपयुक्त पात्र भएको र पछि नहट्ने बताइरहेका छन् । केन्द्रमा देउवा समूहको बर्चस्व देखिएपछि जिल्लामा पनि त्यसको प्रभाव पर्ने र जित्न सजिलो हुने अनुमानमा आकांक्षीहरु पनि बढेका कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । यसका साथै नेपाली कांग्रेस बाँकेको वडा तहदेखी तीन वटै क्षेत्रसम्मको निर्वाचन परिणाम हेर्दा बाँकेमा संस्थापन पक्ष बलियो देखिएको नेताहरु बताउँछन् ।
यता, संस्थापन इतर पक्षबाट भने अहिलेसम्म नारायण गौडेल एकजना मात्रै सभापतिका उम्मेदवार देखिएका छन् । गौडेल १३औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । संस्थापन पक्षका सभापतिका आंकाक्षीहरु धेरै देखिएपछि अन्य पदका उम्मेदवारहरु तय गर्नेतिर भन्दा आफ्नो दाबेदारी बलियो बनाउने वातावरण निर्माणमा जुटेका छन् । यता संस्थापन इतर पक्षले भने पदाधिकारीका उम्मेदवारको पनि लगभग टुंगो लगाइसकेको जनाएको छ ।
युवा नेता सुसधांशु कोइरालाले संस्थापन इतर पक्षबाट दुईजना उपसभापतिमध्ये राजकुमार मौर्य र गोपाल अधिकारीको नाम टुंगिसकेको बताए । सचिवमा सुधांशु आफै उम्मेदवार हुन् । उनले मंगलबार सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै लेखेका छन्, ‘आज मेरो कान्छी छोरी अनन्या कोइरालाको पर्न गएको पहिलो जन्मोत्सवको शुभअवसरमा पुसको २७ गते हुन गइरहेको १४औं जिल्ला अधिवेशनमा जिल्ला सचिवको रुपमा आफ्नो उम्मेद्वारी दिने निणर्य गरेको छु ।
छोरीको जन्मदिनमा छोरी संगै मलाई पनि जिल्ला सचिवमा आशीर्वाद दिनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु । हजुरहरु ले दिनु हुने अमुल्य मतको सम्मान गर्दै संगठनको निम्ति अहोरात्र खटिने र पार्टीको हितमा सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सुधांशुले कालपृष्ठसँग कुरा गर्दै भने, ‘अर्को एक जना सचिवको टुंगो बुधबार लगाउँछौँ । दुई सहसचिवमध्ये एक जना रेणु सिंह ठाकुर लगभग पक्का हुनुहुन्छ भने सहसचिवको अर्को उम्मेदवार र सदस्यका उम्मेदवारहरु बुधबार टुंग्याउँछौँ ।’
संस्थापन पक्षबाट आकांक्षीमध्ये सिजापति र शाह १३औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासंग पराजित भएका थिए । बर्मा १२औं अधिवेशनमा पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालासंग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । संस्थापन पक्षबाट धेरै आकांक्षीहरु देखिएपछि उम्मेदवार छान्न सकल हुने देखिएको छ । उम्मेदवारी छनौटमा केन्द्रीय नेतृत्वको हस्तक्षेप नै निणर्ायक हुने देखिएको छ ।
नवनिर्वाचित कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले ठूलो पार्टी कांग्रेसमा सक्षम नेताहरु धेरै भएकोले आकांक्षीहरु पनि धेरै हुनु स्वभाविक भएपनि संस्थापन पक्षबाट एकजना मात्रै उम्मेदवार बनाएर चुनावमा जाने बताए । ‘आकांक्षीहरु धेरै हुनुहुन्छ । यो हाम्रोजस्तो ठूलो पार्टीमा स्वभाविक हो । सकेसम्म उहाँहरु आफै मिलेर आउनुहुन्छ । त्यो भएन भने केन्द्रीय नेताहरुले एकजना उम्मेदवार बनाउन सहजीकरण गर्नुहुन्छ,’ उनले भने ।
बाँकेमा पनि संस्थापन भित्र पनि दुईधार देखिएका छन् । बर्दिया निवासी नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौर र बाँकेको हमार परिवारको शक्ति संघर्षका कारण संस्थापनबाटै दुुईजना उम्मेदवार हुनसक्ने संभावना पनि प्रवल छ । हमाल परिवारकै सुरेन्द्र हमालले सभापतिमा दाबी गरेकोले अर्को पक्षले नमानेको अवस्थामा उनले पनि नछोड्ने चर्चा भइरहेको छ ।
नेता एवं पूर्व मन्त्री गजेन्द्र हमालले संस्थापनबाट सहमति नभएको अवस्थामा दुईजना उम्मेदवार चुनावी मैदानमा जानसक्ने संभावना रहेको बताए । ‘सहमति भएन भने कम्तिमा दुईजना उम्मेदवार चुनावमा जान सक्ने मैले देख्छु,’ उनले कालपृष्ठसँग भने । यद्धपि संस्थापन पक्षबाट सभापति पदमा धेरै जना आकांक्षी भएपनि प्यानल एउटै बनाउनुपर्ने कार्यकर्ताको दवाब छ ।