विजेता भलिबल खेलाडीलाई जनही ५ लाख पुरस्कार
Wednesday, December 29th, 2021, 6:34 pm
Kalpristha
सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निणर्य गरेको छ । बुधबार (पौष १४ गते) बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निणर्य गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निणर्य गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको थियो । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि युवा तथा खेलकुद मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई समेत दिनुभएको छ ।
उपाधि विजेता नेपाली टिम भोली (बिहिबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।