चिसोबाट प्रभावितको जीवन रक्षाको माग
Wednesday, December 29th, 2021, 6:55 pm
Kalpristha
चिसो तथा शितलहर शुरु भएपछि त्यसबाट प्रभावित नागरिकलाई जोगाउने उपाय अपनाउ माग गर्दै बाँके र बर्दियाका प्रशासनको ध्यानाकषणर् गराइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता तिवारी नेतृत्वको बाँकेका नागरिक समाजका अगुवाहरुको एक समूहले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चिसोको व्यवस्थापन तथा पुर्व तयारीका बारेमा ध्यानाकर्षण पत्र बुझाएको हो । यसैगरी बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समुहले ज्ञापनपत्र बुझाएको छ ।
केही दिनयता बाँकेमा चिसो बढेपछि शितलहर र कुहिरोका कारण ज्येष्ठ नागरिक, असहाय, बालवालिका, दीर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परी बिरामी भई जनजीवन कष्टकर भएको छ । सोही अवस्थालाई मध्यनजर गरी नागरिकका तर्फबाट ५ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको अधिवक्ता विश्वजित तिवारीले बताए ।
पत्रमा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सोबाट बच्ने उपायकाबारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जिवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न माग गरिएको छ ।
गसैगरी ज्येष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शितलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शितलहरका कारण हुन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर औषधी उपचारको यथोचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ ।
विपत जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारबाहीलाई अघि बढाउन माग गरी सोको कार्यन्वयनका लागि पनि ध्यानाकर्षण गराइएको छ ।