भेरी अस्पताल परिसरमा अवस्थित स्टोरको क्वार्टरमा सुतेका चारजनाको मृत्यु (अपडेट)
Thursday, December 30th, 2021, 9:47 am
Kalpristha
भेरी अस्पताल परिसरमा अवस्थित कर्णाली प्रदेश सरकार अन्तर्गतको क्षेत्रिय मेडिकल स्टोरमा कार्यरत एक कर्मचारीको परिवारका चार जनाको सुतेकै अवस्थामा मृतु भएको छ । स्टोरको क्वार्टरमा बसेका उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको छ । यद्धपि यकिन कारण भने पोष्र्टमार्टमपछि मात्रै खुल्नेछ । स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका छोरा, आमा र दिदीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
कालिकोट खडाचक्र नगरपालिका ६ निवासी २३ वर्षीय धनप्रसादसँगै उनका तीन महिने छोरा इप्सन, ४५ वर्षीया आमा कोकिला र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो । यस्तै उनका २४ वर्षीया श्रीमति सुशिला, तीन वर्षीय छोरा *दिवस र १८ वर्षिय भाइ नरेन्द्रको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु क्वार्टरको एउटै कोठामा सुतेका थिए ।
घटनाबारे बिहीबार बिहान मात्र थाहा भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार राती टिनमा आगो बालेर सुतेको पाइएकोले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । मृतकहरुको मुखबाट फिज पनि निस्केको पाइएको छ । यकिन कारणबारे भने पोष्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मात्रै थाहा हुने प्रजिअ खत्रीले बताए ।
धनप्रसाद विगत तीन वर्षदेखि स्टोर शाखामा कार्यरत रहेको बताइएको छ । परिवारका अन्य सदस्यहरु भेटघाटका लागि कालिकोटबाट आएकाले घटनामा एउटै परिवार परेको हुन सक्ने अनुमान गरिएको छ । यसअघिको समाचारमा स्टोर कक्षमा मृत्यु भएको भनेर उल्लेख भएकोमा सच्याइएको छ ।
*सच्याइएको