नेपाल आइपुग्यो स्वर्ण विजेता नेपाली महिला भलिबल टोली
Thursday, December 30th, 2021, 11:59 am
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १५ पुष
बंगलादेशमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई स्वागत गर्न अहिले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अधक, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्के सहित टोली पुगेको छ ।
नेपाली महिला भलिबल टोलीले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको हो । जुन नेपाली महिलाल भलिबल टोलीले जितेको अहिले सम्मको सर्वाधिक ठुलो उपाधिमा पर्छ ।
उपाध्यक्ष मास्केको नेतृत्वमा नेपाली टोलीलाई विमान स्थलमा भव्य स्वागतको तयारी भैरहेको छ । विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फुल मालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद(राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गर्ने क्रममा रहेको छ ।
विमानस्थलमा अहिले स्वागतका लागि नेपाली परम्परागत नेवारी बाजा सहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको बाक्लो उपस्थित रहेको भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताउनु भयो ।
बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रो पटक उपाधि घर ल्याएको हो ।
प्रतियोगिताको साविक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठुलो उपाधि हात पारेको थियो ।