लिग तालिकामा मछिन्द्रको छलाङ
Thursday, December 30th, 2021, 12:41 pm
Kalpristha
जी. थापा
नेपालगंज
जारी सिजनको आधा–आधी खेल सकिँदासम्म लिग तालिकामा मछिन्द्रको छलाङ नथामिने देखिन्छ । शीर्ष लिगमा इतिहास बनाएको र बलियो मानिएका मनाङ, थ्रीस्टार, संकटा, आर्मी, पुलिसलाई पछि पार्दै उपाधिको बलियो दाबेदारीकासाथ अगाडि बढिरहेको मछिन्द्र एएससी क्लब छनौटको दौडमा पनि अगाडि देखिएको छ ।

टिम मछिन्द्र
छैठौ चरणको पोइन्ट टेबुलमा १४ अंकसहित मछिन्द्र लिगको पहिलो स्थानमा उक्लदा मनाङ र संकटा भने समान खेलमा क्रमशः १३ र १२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छ । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको मछिन्द्र पेपर र नतिजा दुबैमा बलियो देखिएको छ । अघिल्लो सिजनको डिफेन्डिङ च्याम्पियनको हैसियतले उपाधि रक्षार्थ क्लबले यस सिजनमा पनि राम्रै धनराशि खर्चेको र त्यसै अनुरुपको प्रतिफलसमेत हात पारिरहेको अवस्था छ ।
लिगको छैठौ चरणमा आफनो प्रमुख प्रतिद्धन्दीमध्ये एक मनाङमाथि १–० को साँघुरो जित निकाल्दै मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा उक्लन सफल बनेको हो ।
सातौं चरणसम्म लिग तालिकामा पहिलो हुने टोलीले यस वर्षको एएफसी क्लब फुटबल प्रतियोगिता खेल्न पाउने हुँदा सातौं चरणको खेलहरु मछिन्द्र र मनाङको लागि महत्वपूर्ण बनेको छ । छैठौ चरणमा मछिन्द्रले पुलिस र मनाङले ब्रिगेड ब्याइजको सामना गर्ने छ । दुबै टोलीले आ–आफनो खेल जितेमा मछिन्द्र स्वतः एएफसीको लागि क्वालिफाइ हुनेछ ।
एएफसी क्लब लाइसेन्स प्राप्त अन्य दुई टोली आर्मी र एपीएफ भने क्वाइफाइबाट बाहिरीसकेका छन् । कोभिड महामारी र पटक पटक लिगको मिति सर्दा मिड च्याम्पियनलाई एएफसी कपको छनौट खेल्न एन्फाले म्यान्डेट तयार गरेको हो । शीर्ष टोलीले लिग च्याम्पियनको हैसियतमा एएफसी कपको छनौट खेल खेल्नुपर्नेमा मिड च्याम्पियन टोलीको नाम सिफारिस गर्नुपर्ने बाध्यात्मक परिस्थितिको कारण लिगको दाबेदार क्लबहरु मारमा परेका छन् ।
मछिन्द्र र मनाङसँग सँगै अंक तालिकामा चुनौती पेश गरिरहेका संकटा, आर्मीजस्ता उपाधिको होडमा उभिएका क्लबहरुलाई भने मिड च्याम्पियनलाई नै एएफसी कप खेल्ने मान्यता पाउने अपरिपक्व र अवैज्ञानिक निर्णयले नराम्रोसँग पिरोलेको छ ।
चालु लिगको शीर्ष टोली मछिन्द्रले लोभलाग्दो प्रदर्शनकै भरमा दशरथ रङशालामा दर्शक तान्न सफल भइरहेको छ । काठमाडौं उपत्यकाको बढ्दो चिसोबीच दर्शकहरु मछिन्द्रको खेल हेर्न आउन आतुर बनेका छन् ।

खेलाडी
स्टार खेलाडीले भरिएका मछिन्द्र र नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङबीचको छैठौ चरणको खेल हेर्न १० हजार बढी घरेलु दर्शकहरु दशरथ रङशाला आएका थिए । जारी लिगमा सर्वाधिक दर्शकले हेरेको यस खेलमा दर्शकको बाक्लो उपस्थिति हुनुलाई मछिन्द्रको बढ्दो लोकप्रियतालाई प्रष्ट्याएको छ ।
सेलेब्रेटी टिम मछिन्द्र :
मछिन्द्रले अघिल्लो लिग जित्दा र अहिलेको टोलीमा पनि सर्वाधिक रकम खर्चेर मनाङबाट भित्र्याएका सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठजस्ता स्टार खेलाडीहरुलाई चालु सिजनमा पनि क्लबमै राख्न सफल हुँदा यो पटकको लिग पनि हत्याउने उसको योजना केही हदसम्म सफल भएको मान्न सकिन्छ । राष्ट्रिय टोलीबाट खेलिसकेका सुनिल बल, बिमल घर्तिमगर, देबेन्द्र तामाङ, छिरिङ गुरुङ, रंजित धिमाल, अभिषेक रिजाल, मनिष डाँगीजस्ता क्षमतावान खेलाडीहरुको साझा चौतारी बनेको छ–मछिन्द्र । एनआरटीविरुद्ध लिगको पहिलो खेलमा उत्रदा मछिन्द्रका खेलाडीहरु स्पेशल हेयर स्टाइलका साथ मैदानमा छाएका थिए । कपालमा प्रत्यारोपण गरिएको विशेष खालको आर्टिफिसियल चमक दमकले खेलाडी र दर्शकबीच एक प्रकारको माहोल बनाइरहेको अनुभूति हुन्थ्यो । भन्नुपर्दा, अहिलेको टिममा राष्ट्रिय खेलाडीहरुको बढ्दो जमघटले गर्दा पनि मछिन्द्रलाई सेलेब्रेटीको टिम भनेर फुटबल वृत्तमा चर्चा हुन थालेको छ ।
एएफसी क्लब छनौटको नजिक मछिन्द्र :
यस वर्षको एएफसी क्लब छनौट चरण मछिन्द्र र मनाङमध्ये कुन क्लबले खेल्ने भन्ने टुंगो लाग्न सातौं चरणको खेलहरु पर्खनुपर्ने भएको छ । मनाङ भन्दा १ अंकले माथि रहेको मछिन्द्रले सातौं चरणमा पुलिसलाई पराजित गरेमा छनौट हुने पक्कापक्की भएकोले एएफसी क्लब छनौटको होडमा मछिन्द्रको सम्भावना बलियो देखिएको छ । सातौं चरणमा मनाङले ब्रिगेड ब्याइजलाई पराजित गरे र मछिन्द्र पुलिससँग बराबरीमा रोकिए वा पराजित भएमामात्र मनाङ छनौट हुने सम्भावना रहेको छ ।