राष्ट्रियसभा निर्वाचनका लागि घोराहीमा निर्वाचन कार्यालय
Thursday, December 30th, 2021, 7:04 pm
Kalpristha
राष्ट्रियसभा सदस्यको लागि हुन थालेको निर्वाचनका लागि लुम्बिनी प्रदेश निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सयुक्त रुपमा गरेका हुन् । कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रियसभाका लागि लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार महिला, दलित तथा अन्य समुदायका गरि तीन सिटका लागि निर्वाचन हुन थालेको बताए । लुम्बिनी प्रदेशमा २ सय ९६ जना मतदाताहरु रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था छ ।
राष्ट्रियसभा सदस्यका लागि आउँदो माघ १२ गते निर्वाचन हुँदैछ । घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि पुस १७ गते मतदाताको नामावली प्रकाशन गरिने भएको छ । १७ गते नै दाबी विरोधको उजुरी दिने प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद, आदि सच्चाउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सक्नेछन् ।
पुस १८ र १९ गते निवेदनका तथा उजुरी उपर छानविन र कारबाही गर्ने, पुस १९ गते अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । पुस २० गते उम्मेदवारको मनोनयन-पत्र दर्ता गर्ने, पुस २० गते मनोनयन-पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गरिने भएको छ । पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन-पत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गरिने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । पुस २४ गते उम्मेदवारी फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । पुस २५ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने छ ।
माघ १२ गते निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । उनीहरूमध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । संविधानले राष्ट्रियसभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरी सक्नुपर्ने व्यवस्था गरेको छ । त्यसैका लागि निर्वाचन गर्न थालिएको हो ।