एन्फा दाङ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
Thursday, December 30th, 2021, 7:30 pm
Kalpristha
दाङमा एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता-२०२८ सुरु भएको छ । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै महेन्द्र बहुमुखी क्याम्पस घोराहीका पूर्व प्राध्यापक तथा खेलप्रेमी डा. नारायणसिंह गुरुङले प्रतियोगिता दाङ जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने प्लेटफर्म भएको बताएका छन् । उनले प्रतियोगिताले जिल्लास्तरबाट खेलाडीहरुलाई अघि बढ्न मद्धत गर्ने भएकाले अनुशासित बनेर खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा राप्ती क्लब घोराही र युएनबिसीले ड्र खेल्दै अंक बाडेका छन् । घोराहीको भरतपुर खेलमैदानमा भएको निर्धारित समयको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको थियो । बराबरी खेलेका दुवै टिमले समान १/१ अंक बाडेका हुन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेल दिउँसो १२ बजे न्यू स्टार फुटबल क्लव नारायणपुर र नवपुर फुटबल एकेडेमीकाविच हुने भएको छ भने दोश्रो खेल दिउँसो २ : ३० बजे राप्ती क्लव घोराही र किसान जागृत क्लवकाविच हुने आयोजक दाङ जिल्ला फुटवल संघले जनाएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा फुटबल संघ दर्ता भएका दश वटा क्लबहरुको सहभागिता रहेको छ । लिगका पहिलो चरणका खेलहरु घोराही र तुलसीपुर गरी दुई ठाउँमा सञ्चालन गरिएको छ । दोश्रो चरणका खेलहरु बेलझुण्डी रंगशालामा खेलाउने तयारी गरिएको छ ।
जिल्लामा पहिलो पटक सुरु भएको जिल्ला लिगले खेलमा सुधारसँगै प्रतिभाशाली र क्षमतावान खेलाडी पहिचान गर्न तथा फुटबल क्लवहरुलाई क्रियाशील बनाउने दाङ फुटवल संघका महासचिव नरेन्द्र पुनले बताए ।
१९ गतेसम्म पहिलो चरणको लिग सकिने छ भने दोश्रो चरणको लिगको तालिका पुनः प्रकाशित गरी लिग खेलाईने भएको छ । पहिलो चरणमा हरेक क्बलले ४—४ वटा खेल खेल्नेछन् भने दोश्रो चरणमा ५—५ वटा खेल खेल्नेछन् ।