बेचविखन रोक्न अन्तरदेशीय कार्यशाला सम्पन्न
Thursday, December 30th, 2021, 7:36 pm
Kalpristha
भारतका कोठीमा हुने महिला बेचविखन रोक्न भारत सरकारले पहल गर्नुपर्ने मानव बेचविखन तथा ओसार पसार विरुद्ध आयोजित अन्तरदेशीय कार्यशालामा जोड दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दिया र माईती नेपालले संयुक्त आयोजना गरेको नेपाल-भारत सम्बद्ध नागरिक संस्थाहरु सम्मिलित गोष्ठिमा दुवै देशका सहभागीहरुले बेचविखन रोक्न दुवै देशका सरकार कटिबद्ध हुनुपर्नेमा सुझाव दिइएको छ । दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले भारतका कोठिहरुमा हुने महिला बेचविखन रोक्न भारत सरकारले पहल गर्नुपर्ने बताइन् ।
यदि भारतमा चेलीबेटी बेचविखनलाई अपराधको मान्यता दिइएको छ भने भारत सरकार कोठीहरु भत्काउन अग्रसर हुनुपर्ने उनको सुझाव रहेको छ । भारतका सर्कसहरु लगायत कोठीहरुमा नेपाली महिलाहरुको बेचविखन नरोकिनु चिन्ताजनक भएको उनको भनाई छ ।
भारतीय संस्था रुसुफ नेपाल रुपैडिहा बहराईचका अध्यक्ष मुक्ताक अली राईले बेचविखन रोक्न नेपाल सरकारले पूणर् जिम्मेवारी लिनुपर्ने धारणा राखे । संघ संस्थाहरुको लक्ष्य प्राप्तिपछि कार्यक्रमहरुको अन्त्य हुने भएकाले पनि सरकारले दीगोरुपमा समस्या समाधानको लागि पहल गर्नुपर्ने उनको भनाइ छ । भारतसँग सीमाना जोडिएका पालिकाहरुले कार्यक्रममार्फत समस्या समाधानका लागि योजना बनाउनु पर्ने उनले बताए ।