भेरीको नाफा १ करोड ४६ लाख
Saturday, January 1st, 2022, 3:34 pm
Kalpristha
भेरी सहकारी वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७-२०७८ मा एक करोड ४६ लाख नाफा कमाउन सफल भएको छ । संस्थाले शनिबार नेपालगन्ज आयोजना गरेको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको २६औं क्षेत्रीय वार्षिक साधारण सभामा संस्थाले गरेका प्रगतिका बारेमा जानकारी गराइएको थियो ।
भेरी सहकारी वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष पदमबहादुर भण्डारीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपालगन्ज उप–महानगरपालिका वडा २ का अध्यक्ष सुनिल सिंह हमाल रहेका थिए । हमालले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेको थिए ।
कार्यक्रममा संस्थाले गत वर्ष प्रति शेयर ३६ रुपैयाँ लाभांश वितरण गरेकोमा आर्थिक वर्ष २०७७÷०७८ मा भने प्रति शेयर एक सय २२ वितरण गरिने कार्यक्रममा जनाइएको छ ।

सभामा उपस्थित शेयर सदस्यलगायत
भेरीले आर्थिक वर्ष २०७६-०७७ को तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा मुनाफासँगै अन्य कारोबारमा पनि वृद्धि गरेको छ । संस्थामा गत आर्थिक वर्षमा शेयर पुँजी दुई करोड ३५ लाख ४५ रहेको थियो भने सो बढेर दुई करोड ५० लाख ६१ हजार पुगेको छ । त्यस्तै निक्षेपमा पनि दुई करोड १६ लाख बढीको वृद्धिसँगै कूल २६ करोड पाँच लाख १६ हजार पुगेको छ ।
त्यस्तै हाल भेरीमा तीन हजार सात सय ७३ शेयर सदस्यहरु रहेका छन् । जसमा नेपालगन्ज उप–महानगरपालिकामा मात्रै एक हजार सात सय ७८ रहेका छन् । हाल भेरीको शाखा बाँके भरी नै रहेको छ ।
भेरीले यसअभि पुस ८ गते खजुरामा, पुस १० गते सम्झना चोक र पुस १४ गते कोहलपुरमा साधारणसभा सम्पन्नपछि नेपालगन्जमा क्षेत्रीय सभा आयोजना गरेको हो । भेरीले आगामी पुस २४ गते भने निर्णय एकीकरण एवम् साधारण सभा समापन गर्ने संस्थाका व्यवस्थापक शोभा गुरुङले जानकारी दिइन् ।