एकैपटक ७ वडा बालविवाह मुक्त घोषणा
Sunday, January 2nd, 2022, 3:26 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए
।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा उपप्रमुख थापाले घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगन्ज बनाउन मद्दत पुग्ने बताइन् । घोषणा अन्तिम नहुने भन्दै उनले बालविवाहलाई शून्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताइन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बालविवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपैयाँ प्रोत्साहन बापत उपलब्ध गराउने बताए ।
प्रमुख जिल्ला अधिकारी खत्रीले घोषणाको पूर्ण कार्यान्वयनमा जनप्रतिनिधी, कर्मचारी र स्थानीय अगुवाको निरन्तर ध्यान रहनुपर्ने सुझाव दिए ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यसअघि नेपालगञ्जका चारवडा बाल विवाहमुक्त घोषणा भइसकेका छन् । नगरका २३ वडा मध्ये बाँकी रहेका वडामा सर्भेक्षण सकेर विभिन्न सचेतनामुलक अभियानपछि छिट्टै बालविवाहमुक्त नगर घोषणाको तयारी गरिएको जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष सिमा केसी, वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्की, वडा नम्बर २१ का वडा अध्यक्ष रञ्जित खाँलगायतका जनप्रतिनिधीलाई बाल विवाहमुक्त वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।