नेपालगन्जका अधिकारकर्मी र सरकारबीच सहमति, आन्दोलन स्थगित
Wednesday, January 5th, 2022, 1:16 pm
Kalpristha
नेपालगन्जका निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेको छ । गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा चार बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन स्थगित भएको अधिकारकर्मी रुबी खानले घोषणा गरेकी छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै खानले अहिलेको आन्दोलन मात्रै स्थगित भएको बताइन् । उनले उक्त आफूले उठाएका मागका विषयमा निरन्तर खबरदारी गरिरहने पनि बताएकी छन् ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत अनुसन्धान गर्ने, साक्षी तथा अभियन्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने, सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने गरी चार वटा विषयमा सहमति भएको छ ।
यसअघि यही विषयलाई लिएर खानसहितका महिला अधिकारकर्मी १२ दिन अनशन बसेपछि सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु नेपालगन्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं पुगेका थिए ।
तर सुरुमा प्रहरीले उल्टै कुर्मीलाई बहुविवाहको मुद्दामा पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि उनी छुटेकी थिइन् ।