राजमार्गमा बसेर लुट्न खोज्ने ६ जना पक्राउ
Wednesday, January 5th, 2022, 1:58 pm
Kalpristha
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकेर जबरजस्ती पैसा असुल्न खोज्ने दाङका ६ जनाको समूहलाई बाँकेको अगैयास्थित प्रहरीले पक्राउ गरेको छ । बाघ आतंकले सुनसान बनेको राजमार्ग एवं कुहिरो र शीतलहरको मौका छोपी राजमार्गमा आवतजावत गर्ने व्यक्तिहरुबाट लुट्न खोज्ने दाङका दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई मंगलबार बेलुका ७ बजेको समयमा पक्राउ गरिएको हो । पूर्वपश्चिम महेन्द्र राजमार्ग अगैयाभन्दा पूर्व को जङ्गल क्षेत्रमा बसेर गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती पैसा माग्ने ६ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले बताए । उनका अनुसार पक्राउ परेका सबै युवाहरु २४/२५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुले बा १४ च ३३०३ नम्बरको कार समेत प्रयोग गरेको पाइएको छ ।
एउटा कार र ट्रकवालाले सो क्षेत्रको जङ्गलमा लुटेराको समूहले लुटपाट गरिरहेको भन्ने खबर प्रहरीलाई दिएपछि तत्काल अगैया प्रहरी ईन्चार्ज केसीको कमाण्डमा गएको प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ती लुटेरा समुहलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरी ईन्चार्ज केसीले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले मादक पदार्थ सेवन गर्नका लागि भन्दै धम्क्याएर लुट्न खोजेका पाइएको छ । हातहतियारको प्रयोग भने नगरेको पाइएको छ । उनीहरुको साथबाट सात सय ५० रुपैयाँ बरामद भएको छ ।