जनशक्ति अभावकाबीच खजुरामा बाल क्यान्सरको उपचार सुरु
Wednesday, January 5th, 2022, 2:34 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
खजुरा, २१ पुस
खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बाल क्यान्सरको उपचार सेवा सुविधा थप गरेको छ । २०७५ साल असार ११ गतेखि संचालनमा आएको क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा आउन नसके पनि सेवा बिस्तार गर्ने क्रममा पश्चिम नेपालमा पहिलोपटक बाल क्यान्सर उपचार सेवा थप गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यका अनुसार क्यान्सर अस्पतालले कान्ती बाल अस्पतालको सहकार्यमा बाल क्यान्सरको उपचार थालनी गरेको हो । डा. आचार्यले भने, ‘बालबालिकाका लागि उपचार गर्न कि कान्ती अस्पताल वा भरतपुर अस्पताल नै जानपर्ने बाध्यता छ । सुदूपश्चिम र मध्यपश्चिमका जनतालाई त्यो बाध्यता हटाउनका लागि यही नै कान्ति अस्पतालका डाक्टरहरुसँग सहकार्य गरेर सुरुको उपचार कान्ति अस्पतालमा भएर त्यसपछिको मेन्टिनेन्स पेसको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि बाल क्यान्सर उपचारका लागि सबल भएको आजको मितिबाट तय भएको छ ।’
बाल क्यान्सर उपचारका लागि अस्पतालमा कार्यरत ६ जना डाक्टर र ६ जना नर्सलाई कान्ती अस्पतालका चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा दुईदिने तालिमसमेत सम्पन्न गरिएको डा. आचार्यले जानकारी दिए । साथै तालिमका क्रममा एकजना बाल क्यान्सर बिरामीको पनि उपचार भएको उनले बताए ।
कान्ती बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरि हाललाई सुशील कोइराला क्यान्सर अस्पतालमा उपलब्ध जनशक्तिलाई नै प्रयोग गरेर बाल क्यान्सर उपचार सेवा सुरु गरिने बताउँछन् । उनले नेपालका सीमित ठाउँमा मात्र बाल क्यान्सरको उपचार सेवा भएकाले बिरामीका परिवारले ठूलो रकम खर्च गरेर काठमाडौं र भरतपुर लिने भएकाले यसलाई सरलीकरण गर्न सम्भव भएका ठाउँहरुमा सेवा दिने उद्देश्यले खजुरासँग सहकार्य गर्न थालिएको बताए ।
जनशक्तिको अभाव
शुसील कोइराला प्रखर क्यान्सर अस्पताल पूर्णरुपमा संचालनमा नआएपनि अस्पतालमा भने जनशक्तिको चरम अभाव रहेको छ । अस्पतालमा हाल तीनजना मात्र स्थायी दरबन्दी रहेको छ भने अरु सबै करारमा रहेको अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए ।
‘हामीसँग स्थायी दरबन्दी भनेको कार्यकारी निर्देशक, लेखा अधिकृत र प्रशासन अधिकृत तीनजनामात्र हो । बाँकी सबै करारमा हो । त्यसमा पनि हाम्रो ५४ जनामा दरबन्दी स्वीकृत छ । स्टाफ नर्सदेखि तल सबै कर्मचारी व्यवस्थापन अस्पताल आफैं हेर्नुपर्ने बाध्यता रहेको छ,’ अध्यक्ष केसीले भने । उनले अस्पतालका लागि चाहिने कूल जनशक्तिका लागि ओएनएम सर्वे भइरहेको बताए ।
केसी स्थायी दरबन्दी नहुँदा करारमा जनशक्ति टिकाउन निकै मुस्किल परेको बताउँछन् । उनले अस्पताललाई पूर्णरुपमा संचालन गर्नका निम्ति रेडियसन सेकाई मेसिन प्रक्रियामा रहेको र दरबन्दी परिपूर्तिका लागि मन्त्रालयसँग पहल गरिरहेको बताए ।
अस्पतालका निर्देशक डा. आचार्यका कर्मचारी अभाव भएतापनि एक महिनाभित्र बाल चिकित्सक ल्याउने बताउँछन् । उनले बाल क्यान्सर उपचारका लागि जनशक्ति परिपूर्ति गर्ने प्रण गर्दै बाल क्यान्सर उपचारलाई निरन्तरता दिने दृणता व्यक्त गर्छन् ।